Logo

ज्ञानेन्द्र शाह कतै गएछन् भने नेपाल फर्केलान्, राजसंस्था र हिन्दुराष्ट्र फर्किँदैनः वामदेव गौतम



काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्व गृहमन्त्री वामदेव गौतमले नेपालमा राजसंस्था र हिन्दुराज्य सम्भव नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँले राजा फर्काउँछु भन्नु केटाकेटी खेल भएको बताए । उनले पूर्वराजा कतै घुम्न गएको खण्डमा मात्रै नेपाल फर्किने तर शासन सत्ताको बागडोर सम्हाल्ने गरी कहिल्यै पनि नफर्किने ठोकुवा गरे ।

‘राजा दुर्गा प्रसाईँले बनाएर बन्ने,प्रधानमन्त्री दुर्गा प्रसाईँले बनाएर बन्ने भनेको खेलौना हो । खेलौना राजा केटाकेटीहरुलाई दिइयो भने खुसी हुन्छन् नि । दुर्गा प्रसाईँको पुतली नाच हो । राजा फर्कलान् इन्डियातिर गएका छन् भने नेपाल आउलान्, घरमा बस्नका निम्ति । पूर्वराजा आफ्नो मनमा मै हुँ राजा भनेर बस्नुहुन्छ,’– उनले भने ।

राजा फर्किन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारी र बहुमत जनमत राजसंस्थाको पक्षमा नभएसम्म सम्भव नरहेको र उक्त जनमत अहिले राजाको पक्षमा नरहेको उनले बताए । राजा फर्किन पर्छ भन्ने केही मतमात्रै रहेको उनले बताए । अहिलेको अवस्थामा ज्ञानेन्द्रका पुर्खानै ब्युँतिएर आएपनि राजसंस्था सम्भव नरहेको उनले बताए ।

साथै, नेपाल अब कहिल्यै पनि हिन्दुराष्ट्र नबन्ने उनको दाबी छ । धर्म स्वतन्त्रताको कुरा भएको बताउँदै उनले धर्मको आधारमा शासन सञ्चालन गरिन नहुने बताए । उनले हिन्दु धर्मको आधारमा राज्य सञ्चालन गर्नका लागि मनुस्मृतिमा फर्किनुपर्ने बताए । त्यो अब सम्भव नरहेको उनको भनाइ छ ।

‘हिन्दुराष्ट्र त अब कसैले पनि बनाउन सक्दैन । हिन्दुराष्ट्र बनाउने भनेको हिन्दु धर्मको आधारमा राज्य सञ्चालन गर्ने हो, त्यो मनुस्मृतिमा आधारित हुन्छ । त्यस भएर हिन्दुराज्य बन्दैन,’– उनले भने ।

उनले हिन्दु धर्म मान्नु र हिन्दुराज्य बनाउनुमा फरक हुने बताए । धर्मको आधारमा राज्य सञ्चालन गर्नु दुरुपयोग हुने बताए । सदियौंदेखि मान्दै आएको भएकाले नेपालमा हिन्दुहरुको बहुमत रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्