Logo

गृहमन्त्री हुँदा रविले सुराकीवापत दैनिक ५० हजार बुझेको र एक अर्ब कमिसन आउने गरी डिल गरेको माओवादी नेताको आरोप



काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सु्शासनका कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता दाहालले रविले सुराकी वापत दैनिक पाउने ५० हजार पनि नछोडेको र करिव एक अर्ब कमिसन आउने गरी नेपालीको व्यक्तिगत डेटा र राज्यको सुरक्षा सूचनाको काम विदेशी कम्पनीलाई दिने निर्णय गरेको आरोप लगाएका हुन् ।

‘उहाँले ३२ दिन गृह मन्त्रालय सम्हाल्नु भयो । ३२ दिनमा के गर्नुभयो त्यो नेपाली जनता जानाकार छन् । जनतालाई ढाँट्न हुँदैन, सत्य जे हो, सत्यको जगमा उभिएर वहस गरौं । नयाँ पार्टी भएपछि नयाँ पार्टीले त नयाँपन ल्याउनु पर्यो नि । सत्यलाई स्वीकार गर्नुपर्यो, सत्यलाई आत्मसात गर्नुपर्यो । राम्रा कामको प्रशंसा गर्नुपर्यो ।’ उनले भने, ‘नराम्रा काम छन् भने आलोचना गर्नुपर्यो । रविजीले गृहमन्त्रालय ३२ दिन सम्हाल्दाखेरी उहाँले प्रत्येक दिन सुराकी वापत लिने ५० हजार त्यो पनि लिनु भएको छ । त्यतिमात्रै होईन अवैधानिक ढंगले कानुन मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति विना फ्रान्सेली कम्पनीलाई नेपाली डाटा संकल्नको झण्डै एक अर्ब कमिसनको आधारमा दिनु भएको थियो ।’

पछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएर आएपछि तत्कालीन गृहमन्त्री लामिछानेले गरेका निर्णयहरु खारेज गरेको उनले बताए । उनले सुशासनको पक्षमा कुनै पनि राम्रा कामको सुरुवात गर्न नसकेको नेता दाहालको दाबी छ ।

रास्वपा आलोचनाको जगमा फेसबुक र सामाजिक सञ्जालमा पुराना दल र नेताहरुलाई सरापेर बनेको पार्टी भएको उनले बताए । रास्वपाका नेताहरुले युरोप, अमेरिकामा पढेर आएका र वौद्धिक र विलासिताको वहस गरेको उनले बताए । नेपाली समाज र नेपाली समाजको मनोविज्ञानमा त्यो वौद्धिक र विलासिताको वहस उपयोगमा आउन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्