Logo

राष्ट्रिय सभा निर्वाचनः सत्तारुढ दलबीच गठबन्धन निश्चित, एमालेलाई चुनौति



काठमाडौं, ६ पुस । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली, कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धनको टुंगो लागेको हो ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । निर्वाचन हुने १९ सिटमध्ये १० सिटमा कांग्रेसको दाबी रहेको छ । त्यसैगरी, माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् । सबै दलहरुलाई मिलाएर लैजाँदा कांग्रेस र माओवादीले कम सिट पाउने निश्चित छ ।

जसअन्तर्गत बागमतीमा ४, कर्णाली, सुदूरपश्चिम गण्डकीमा ३/३ कोशी प्रदेशमा २, मधेस प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ सिटमा निर्वाचन हुँदैछ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि गठबन्धन गर्न नहुने आवाज उठाउँदै आएका थिए । कांग्रेसबाट निर्वाचित भएका ४ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वयको उक्त आवाजमा बन्द गराउँदै गठबन्धनमार्फत नै राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुँदा सबैभन्दा बढि फाइदा आफूहरुलाई नै हुने भएपछि अन्ततः कांग्रेसले गठबन्धनको नीतिलाई निरन्तरता दिन लागेको हो ।

त्यस्तै, माओवादी केन्द्रबाट निर्वाचित भएका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । तर, माओवादीले भने आसन्न निर्वाचनमा ५ सिट दाबी गरिरहेको छ । त्यस्तै, नेकपा (एस) बाट निर्वाचित दुईं जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेको भएपनि उसले ३ सिटमा दाबी गरिरहेको छ । जसपाबाट निर्वाचित एक र एक स्वतन्त्र निर्वाचित सांसदको पनि पदावधि सकिँदैछ । जसपाले रिक्त हुने एक सिटमा दाबी गर्ने निश्चित रहेको छ । साथै, लुम्बिनीमा पनि दाबी गर्ने तयारी रहेको जसपाका एक नेता बताउँछन् । त्यसैगरी, जनमत र नाउपाले पनि राष्ट्रिय सभामा १/१ सिटको दाबी गरिरहेका छन् ।

यसरी, सत्तारुढ छ दलले गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने तयारी गरिरहँदा एमालेलाई भने पहिलेकै सिट जोगाउन मुश्किल हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका दलबीच कुनै नाटकीय परिवर्तन भएको खण्डमा बाहेक एमालेलाई यो राष्ट्रिय सभा निर्वाचन पनि चुनौतिपूर्ण हुने निश्चित छ । यसअघि २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका थिए । शेर्पा विजयीसँगै एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्