Logo

मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष



काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धता र सहमति जनाएअनुसारको काम गर्न नसकेका मन्त्रीहरु फेरेर भएपनि कामलाई गति दिने बताएका छन् । आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधनका क्रममा उनले विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर कामका बारेमा जानकारी लिएका बताउँदै सन्तोषजनक काम गर्न नसकेका मन्त्रीहरु फेर्ने बताएका हुन् ।

‘मैले सिंहदरबामा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका कामहरु कसरी भएका छन् ? अब ठीक ढंगले कामहरु भएन, आफूले प्रतिवद्धता ब्यक्त गरेर सहमति जनाएका काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन् ।’ उनले भने, ‘यस्ता मन्त्रालयलाई पुनर्गठन, मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर मैले प्रतिवद्धता ब्यक्त गरेको छु ।’

साथै, उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएको यो एक वर्षको अवधिमा सुशासन, समाजिक न्याय, समृद्धि, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुग्ने दिन (आगामी पुस १० गते) देश र जनताको पक्षमा सम्बोधन गर्ने पनि बताए । उक्त सम्बोधनमा सरकारले हालसम्म गरेको कार्यको फेहरिस्त उल्लेख हुने पनि उनको भनाई छ ।

साथै सरकारले आगामी पुस ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरु अगाडि बढाउने समेत बताए ।

कोशी प्रदेशमा देखिएको पहिचानको विषयमा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ताका माध्यमबाट समस्या समाधान गरिने उनले बताए । जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लडेको दाबी गर्दै उनले त्यहाँका जनताको चिन्ता र चासोलाई सरकारले सकारात्मक ढंगले सम्बोधन गर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्