Logo

आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्यः मन्त्री शर्मा



काठमाडौँ, ६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छन् । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उनले जानकारी दिईन् ।

‘लिभिङ विथ आइसिटी’ ले आज आयोजना गरेको ‘आइसिटी अवार्ड’ को आठौँ संस्करणलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट गरिन् ।

जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार भएका उनको भनाई थियो ।

“हामीले अन्य उद्योगधन्दा खोल्यौँ भने आजको आजै विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ । यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । अब यस क्षेत्रमा सामान्य सुधार होइन ‘डिपार्चर’ नै गर्नुपर्छ भन्ने मान्यता सरकार रहेको छ,”– मन्त्री शर्माले भनिन् ।

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति, २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको मन्त्री शर्माले जानकारी दिईन् ।

सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायत अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरू सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आमूल परिवर्तन गर्ने पक्षमा रहेको मन्त्री शर्माको भनाइ छ ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकिएको भन्दै उनले यसमा प्ुनरावलोकनको आवश्यकता औंल्याईन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिँदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरू कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गरिन् ।

सूचना प्रविधि क्षेत्रका ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्न सरकारले आइसिटी एक्जिविसन र डिजिटल च्याम्पियनजस्ता कार्यक्रम राख्ने तयारी गरेको जानकारी दिँदै मन्त्री शर्माले देशैभरिका स्टार्टअपहरूको प्रतिस्पर्धा गराउने र उत्कृष्ट हुनेहरूलाई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारजस्ता डिजिटल फ्रेमवर्कका विभिन्न पहलहरूमा नवप्रवर्तनका काम गर्न लगाउने गरी तयारी थालेको बताईन् ।

युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुनेगरी सातै प्रदेशमा ‘डिजिटल स्किल’ का कार्यक्रम पनि राख्ने तयारी गरिएको मन्त्री शर्माले बताईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्