Logo

पूर्वमाओवादी नेता किरातीको खुलासाः ‘तेस्रो जनआन्दोलनको तयारीमा छौं’ (भिडिओसहित)



काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं पहिचानवादी आन्दोलनका अभियन्ता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छोडेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले पहिचानको मुद्दा छोडेपछि आफू पार्टीबाट बाहिरिएको बताए । अहिले आफू पहिचानसहितको समाजवादीहरुको राजनीतिक मोर्चा निर्माण, तेस्रो जनआन्दोलनको तयारी र संविधान पुनर्लेखनको मुद्दासहित अगाडि बढिरहेको खुलासा गरे ।

‘६० सालदेखि २०७४ सालको अन्त्यसम्म १५ वर्ष केन्द्रीय समितिमा हामीसँगै काम गर्यौं । खासगरी पहिचानको मुद्दा छोडेर उहाँहरु (माओवादी) ले गइसकेपछि अब के गर्ने भन्ने सन्दर्भमा पहिचानसहितको समाजवादीहरुको राजनीतिक मोर्चा निर्माण गर्नुपर्छ, तेस्रो जनआन्दोलतको तयारी गर्नुपर्छ र संविधान पुनर्लेखन गर्नुपर्छ भन्ने सम्बन्धमा हामी छलफल गरिराखेका छौं । केही दिनमा हामी एउटा निश्कर्षमा पुग्छौं,’– उनले भने ।

अहिलेको समाजवादी मार्चाको कुनै अस्तित्व नरहेको उनको दाबी छ । हिजोका माओवादी खाओवादी भनेको र समाजवादी मोर्चा पनि त्यही स्वरुपको रहेको उनको आरोप छ । पूर्व माओवादी नेताहरु मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ ले वाम विसर्जनवादी रवैया देखाएर आफूहरुलाई पनि दुःख दिएको उनीहरुले पनि दुःख पाएको नेता किरातीको आरोप छ ।

‘संविधान सभाबाट संविधान निर्माणको नीतिमा देश, जनता र कार्यकर्तालाई होम्ने अनि त्यो नीति छोडेर भाग्ने वैद्य र विप्लवहरुले वाम विर्सजनवादी रवैया अपनाउनु भयो । उहाँहरुले पनि दुःख पाउनु भयो, हामीलाई पनि दुःख दिनुभयो,’– उनले भने ।

वर्तमान अवस्थामा नेपालमा कम्युनिष्टहरुनै नरहेको उनको दाबी छ । अहिले कम्युनिष्ट भनिएका नेता र पार्टीहरु कम्युनिष्टको खोलमात्रै ओढेको उनको टिप्पणी छ । उनले कम्युनिष्ट भनिएका पार्टी र नेताहरुलाई बदमासको संज्ञा दिँदै अब लखेट्ने समेत चेतावनी दिए । बाबुराम भट्टराई पछिल्लो समय कम्युनिष्ट विरोधी बनेको र कम्युनिष्टको नामसमेत सुन्न नचाहेको उनको टिप्पणी छ । त्यसैगरी, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाघको छाला ओढेको ब्वाँसो भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्