Logo

माओवादी नेता शाही भन्छन्, ‘हिजो मन्त्रीको छेउमा बसेर दारू खाने दलालहरु तह लागेका छन्’



काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान सरकार सुशासनको पाटोमा विगतका सरकारहरुभन्दा सफल रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारको कदमका कारण हिजोका दिनमा खुलेआम भ्रष्टाचरमा संलग्न रहेकाहरु डराएको बताए । उनले हिजोका दिनमा मन्त्रीको छेउमा बसेर दारु खाने दलालहरु अहिले तह लागेको बताए । साथै, अघिल्ला सरकारले सूरु गरेको ठूला परियोजनाहरुको कामले पनि अहिले गति लिएको उनको दाबी छ । वर्तमान सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरेको उनको दाबी छ ।

‘सुशासनको पाटोमा अघिल्लो सरकारभन्दा यो सरकार सफल । तुलना गर्नुपर्यो नि त । रातारात शून्यमा झार्न सकिँदैन तर मान्छे अहिले डराएका छन् । हिजो आँखा चिम्लेर भ्रष्टाचार गर्नेहरु त्रसित छन् । हिजो सँगै मन्त्रीको छेउमा बसेर दारु खाने दलालहरु, यस्ता गलत काम गर्ने मान्छेहरु अहिले त तह लागे ।’ उनले भने, ‘अघिल्लो सरकारले गरेका कामहरु ठूला आयोजनाहरु, हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, उत्तर दक्षिण करिडोरका कुराहरु भए, ती ठूला आयोजनाहरुले हिजोको भन्दा आजको दिनमा त्यसले गति लिएको छ । अहिले मान्छेले अपेक्षा के गरेका छन् भने वर्तमान सरकारले केही नयाँ गर्छ भन्ने विश्वास गरेका छन् ।’

अहिले मान्छेले केही गरेन भन्नेहरु पनि रहेका बताउँदै उनले उक्त अभिब्यक्ति विरोधीहरुको मात्रै भएको बताए । उनले जनताले सरकारले धेरै राम्रो काम गर्यो भनिरहेका समेत दाबी गरे । वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि लिएर विगतमा सरकारमै रहेका मान्छेहरुको सेटिङको आधारमा हुने गरेको सुन तस्करी नियन्त्रण गरेको समेत बताए ।

‘यति ठूलो अपराध त हुँदो रहेछ नि ? मानव तस्करसम्म हुँदोरहेछ, मान्छे बेच्नेसम्मका सञ्जाल रहेछन् भन्ने कुरा जनताले चिन्न पाए । दोस्रो ललिता निवास, राज्यको सम्पत्ति दिनदहाडै बेचिखाने दलालहरु रहेछन् भन्ने कुरा जनताले बुझ्न पाए । त्यस्तो थुप्रै जग्गाहरु छन्, ललिता निवास त उद्धाहरणमात्रै हो । त्यस्ता जग्गा त कति छन् कति । गुठीको नाममा र ट्रष्टको नाममा रहेका जग्गाहरु बेचिखाएका छन् ।’ उनले भने, ‘यो कुरा क्रमशः बाहिर आउँदैछ । यति ठूलो सुन तस्करी लगायतका थुप्रै काम भइरहेका रहेछन् भनेर जनताले थाहा पाए । हिजो सरकारको नेतृत्व गरिरहेका मान्छेहरुकै ठूलो कमजोरी हो । उहाँहरुको मिलिमतोविना यस्ता काम हुँदैन । के रहेछ भन्ने त अहिलेको सरकारले सार्वजनिक गर्यो नि ।’



प्रतिक्रिया दिनुहोस्