Logo

विपक्षीहरुले समेत माओवादी फेरि जागेछ भन्ने रिपोर्ट गरेपछि मलाई सन्तोष भयोः प्रचण्ड



काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, रुपान्तरण विशेष अभियानले नयाँ तरङ्ग पैदा गराएको बताएका छन् । सोही अभियानअन्तर्गत बुढानीलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशभरका ७७ वटै जिल्ला, पालिका र वडामा उत्साहजनक सहभागिता देखिएको बताएका हुन् । सो अभियानलाई लिएर विपक्षीले समेत माओवादी त फेरि जागेछ भनेर रिपोटिङ गरेको उनले सुनाए ।

‘यो अभियानमा म देशभर जहाँ–जहाँ पुगेँ, एउटा नयाँ तरङ्ग पैदा भएको छ । खाली माओवादी समर्थक या माओवादीका नेता कार्यकर्तालेमात्रै होईन, यो अभियानको सुरुवातमा जो सक्रियता देखापर्यो, ७७ वटै जिल्ला, पालिका र वडामा ।’ उनले भने,‘हाम्रा विपक्षीहरु पनि के भएको हो माओवादी त फेरि जाग्यो भन्ने रिपोर्ट विरोधीबाट पनि आएपछि मलाईँ अलिकति सन्तोष भयो । पार्टी चलेछ भन्ने विश्वास भयो ।’

माओवादीको उक्त अभियानको उद्देश्य माओवादी पार्टी बलियो बनाउनुमात्रै नभएर परिवर्तन र राष्ट्र दुवैको रक्षा गर्ने तागत पैदा गर्नु रहेको उनले बताए ।

आगामी पुस १६ गते उक्त अभियान समापन गरेपछि तुरुन्तै स्थायी कमिटीको बैठक बसेर विधान सम्मेलन, विधि विधानलाई व्यवस्थित बनाउने र विचारमा केन्द्रीत भएर अभियान चलाउने अभियानमा जाने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्