Logo

कांग्रेस बागमती प्रदेश सम्मेलनः शेखरलाई निमन्त्रणा नै दिइएको थिएन



काठमाडौं, ८ पुस । नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनमा डा. शेखर कोईराला सहभागी भएनन् । शेखरको अनुपस्थितिलाई लिएर धेरैले आ–आफ्नो अड्कलबाजी लगाए । प्रदेश सम्मेलन जारी रहँदा कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल हुनेगरी बाहिर आइरहेको छ । मधेश प्रदेश होस् या बागमती, बरियताको विवादले कांग्रेसमा आन्तरिक द्वन्द्वलाई थप मलजल गरेको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले भने प्रदेशले बनाएको मापदण्डमा नपरेकाले शेखरलाई नबोलाइएको बताए । मापदण्डअनुसार बागमती प्रदेशका सदस्य, प्रदेशका कार्यसमिति, पार्टी महामन्त्री र सोही प्रदेशका सहमहामन्त्री र नेताहरुलाई मात्रै निमन्त्रणा गरिएको नेता बानियाँको भनाइ छ ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बानियाँले भने- ‘‘हामीले मर्यादाक्रमको कुरा गर्ने हो भने यसमा हामीले एउटा मापदण्ड बनाएका थियौं । बागमती प्रदेशका सबै केन्द्रीय सदस्य यो सम्मेलनका प्रतिनिधि हुनेछन् । त्यसपछि बागमती प्रदेशका सबै कार्यसमिति यो सम्मेलनको प्रतिनिधि हुनेछन् । बागमती प्रदेशका प्रदेश सभा सदस्य यो सम्मेलनको प्रतिनिधि हुनेछन् । हामीले बागमती प्रदेशको केन्द्रीय समितिका साथीहरुलाई र महामन्त्रीभन्दा माथिका पदाधिकारीलाई र यसै प्रदेशका सहमहामन्त्रीलाई मात्रै आमन्त्रण गरेको अवस्था हो । त्यो मपदण्डमा नपरेपछि, अरु केन्द्रीय सदस्यलाई पनि निमन्त्रणा नदिएपछि उहाँलाई पनि दिने कुरा रहेन ।’

प्रकाशमान सिंह यसै प्रदेशको भएर बोलाइएको र सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि र शेखरलाई उक्त मापदण्डमा नपरेकाले नबोलाइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्