Logo

विद्युत महशुल नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटियो



काठमाडौं, ८ पुस । नेपाल विद्युत प्राधिकरणले महशुल नबुझाएपछि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको छ । प्राधिकरणले आज ती दुई उद्योगहरुको लाईन काटेको हो ।

गत शुक्रबार प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार यी चार उद्योगको कूल वक्यौता ८ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टसँग ८३ करोड र लक्ष्मी लक्ष्मी स्टिलसँग ६२ करोड महशुल बक्यौता रहेको प्राधिकरणले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काट्न निर्देशन दिएका थिए ।

“विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्। डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्नेको लाइन तुरून्त काटौं। ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाउँ,”– प्रधानमन्त्री प्रचण्डले निर्देशन दिँदै भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि महशुल नतिर्ने उद्योगहरुको लाइन काट्ने अभियान सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्