काठमाडौं, १५ पुस । राज्य व्यवस्था तथा सुशान समितिका सभापति रामहरि खतिवडाले प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्री सोही बाटो हिँड्नुनै गलत भएको बताएका छन् ।
उनले उक्त घटनामा सरकारले प्रहरीका हवल्दार, असई, सई र एसपीलाई कारबाही गरेर आदेश दिने माथिल्ला तहका कार्मचारी र पोलिटिकल लिडरलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरे ।
उनले उक्त घटनाबारे जवाफ माग्न भोलि विहान साढे ८ बजेदेखि बस्ने समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमख र सशस्त्र प्रहरीका प्रमुखलाई बोलाइएको बताए । साथै, उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र उनका पिएसओहरुको पनि गल्ती रहेको उनको आरोप छ । आफूले उक्त घटनालाई गम्भीर रुपमा लिएको उनले बताए ।
‘प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्री त्यही बाटो किन हिँड्नुपर्थ्यो ? बाटोहरु त धेरै थिए । मन्त्री र मन्त्रीको पिएसओहरुको पनि कमजोरी देखिन्छ । त्यो सँगसँगै गोलीनै चलाउन पर्ने अवस्था सिर्जना गर्नुको कारण के थियो ? फेरि प्रहरीका हवल्दा, असई, सई, एसपीलाई चाँही कारबाही हुने, फेरि आदेश दिने आदेश दिने पोलिटिकल लिडर र ठूलालाई चाँही किन कारबाही नहुने ? त्यो मात्रै हो भने भोलिदेखि प्रहरीले पनि काम गर्दैनन्,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले भने । File Photo/RN