काठमाडौं, १८ पुस । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका हरी नेपाली भन्ने हरी दर्जी पक्राउ परेका छन् । नुवाकोट बेलकोटगढी नागरपालिका–१३ ठेगाना भएका ४३ वर्षीय दर्जीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनीमाथि पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रहेको आरोप छ । दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।