काठमाडौं, १९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलबीच भागबण्डाको विषयलाई नेकपा (एमाले) को प्रस्तावले पेचिलो बनाइदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन आग्रह गरेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठकमा ब्रिफिङ गरेपछि गठबन्धन दलबीच शंका उपशंकाको वातावरण निर्माण भएको छ ।
भागबण्डा टुङ्ग्याउन विगत तीन दिनदेखि गठबन्धन दलका शीर्ष नेताहरु लागिपरेका छन् । तर, एमालेको प्रस्तावले गठबन्धन दलमा दरार ल्याइदिएको छ । नेकपा (एकीकृत समाजवादी) ले एमालेलाई पनि भाग दिने कुरा ठाडै अस्वीकार गरेको छ । एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेको प्रस्तावको आशयमाथिनै आशंका व्यक्त गरे । उनले एमालेको प्रस्तावको भित्रि अन्तर्य गठबन्धन दलबीचमा छलफल भएरमात्रै निर्णयमा पुग्नुपर्ने बताए ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पनि दाहाल र ओलीको सहकार्यको प्रयासमा असन्तुष्टि जनाएका छन् । उनको दलका नेताहरुले ओलीको प्रस्ताव कुन ढंगले आएको हो भनेर बुझ्नुपर्ने बताउँदै आएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसमा पनि प्रचण्डको ब्रिफिङले तरङ्ग ल्याइदिएको छ । २०७९ पुस १० गते ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड फेरि एमालेसँग नजिकिएर सरकारको नेतृत्व गर्न नदिने कुनै षड्यन्त्र त भइरहेको छैन भन्ने चिसो कांग्रेसका नेताहरुमा परेको छ ।