काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ दलको गठबन्धनबीच राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमा भागबण्डा हुँदा माओवादीले ६ सिट पाएको थियो । माओवादीले मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा १/१ सिट पाएको थियो । सत्तारुढ गठबन्धन दलको सहमतिअनुसार माओवादी केन्द्रले ६ जना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ ।
माओवादीले टुङ्गो लगाएका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै दीपशिखाले सामाजिक सञ्जालमा भनेको छन्, ‘आन्दोलन र सडकका मानिसहरू सत्तामा अटाउँदैनन् र रूचाईदैनन् ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको थियो ।
माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द छन् ।