काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको छ । सत्तारुढ दलसँग गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा होमिएको कांग्रेसले १० सिटमा उम्मेदवार उठाएको छ । कांग्रेसइत्तर समूहले उक्त १० सिटमा आफूहरुलाई ४ सिट दिनुपर्ने भन्दै अडान लिएपनि अन्ततः ३ सिटमा चित्त बुझाएको छ ।
इत्तर समूहमा रहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सम्मानजनक प्रतिनिधित्व नभए फरक मत राख्नेसमेत तयारी गरेका थिए । आइतबार विहान गठबन्धन दलले भागबण्डा टुङ्ग्याएसँगै कांग्रेसले उम्मेदवार चयनका लागि बैठक सुरु गरेपनि अन्ततः आज विहानमात्रै उम्मेदवार फाइनल गर्न सक्यो ।
लामो छलफल र विवादबीच उम्मेदवार चयन गरेको कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्द ढुङ्गाना, बाग्मतीमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इत्तर समूहबाट लुम्बिनीमा सापकोटा, गण्डकीमा श्रेष्ठ र परियारलाई उम्मेदवार बनाइएको हो ।