काठमाडौं, २५ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफू निर्वाचित भएर आएपछि नेकपा (एमाले) को कुनै भूमिकामा नरहेको बताएका छन् । उनले आफूले निश्पक्ष ढंगले कार्यसम्पादन गरेको उनको दाबी छ । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएदेखि देशको संविधान, ऐन र सभा सञ्चालन गर्ने परम्पराअनुसार नै आफू अगाडि बढेको उनले बताए ।
आफू निर्वाचित भएदेखि अहिलेसम्म तथस्ट रहेको र आगामी फागुन २० गतेसम्मको कार्यकालमा पनि आफू तथस्ट रहने उनले बताए । उनले आफूले देशको संविधान, ऐन र सभा सञ्चालन गर्ने परम्पराअनुसार नै काम गरेको दाबी गर्दै कसैलाई चित्त बुझ्नु वा नबुझ्नु फरक कुरा भएको बताए ।
‘म राष्ट्रिय सभा अध्यक्ष भएपछि एमालेका सबै जिम्मेवारी छोडेको छु । देशको संविधान, ऐनले जे व्यवस्था गरेका छन् र हाम्रा जे परम्परा छन्, यसलाई सञ्चालन गर्ने त्यो भन्दा तलमाथि भएको छैन,’– उनले भने ।
‘जनताको चाहनाअनुसार राष्ट्रिय सभा चल्यो ?’ भन्ने धमलाको प्रश्नमा उनले सभालाई प्रभावकारी बनाउने भूमिका अध्यक्षको मात्रै नभएको बताए । उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन प्रत्येक सदस्यको भूमिका रहने बताए । आफ्नोतर्फबाट हुने काममा विना भेदभाव र निश्पक्ष ढंगले सम्पादन भएको उनले बताए ।
‘चाहनाअनुसार राष्ट्रिय सभा चलाउन अध्यक्षको सबै भूमिका हुँदैन । प्रत्येक सदस्यको त्यत्तिकै भूमिका हुन्छ । सदस्यको भूमिका हुनका लागि ती दलहरु जसले सदस्यका रुपमा त्यहाँ पठाए दलहरुको भूमिका हुन्छ । आफ्ना सदस्यहरुलाई कसरी प्रभावकारी भूमिका खेल्न लगाउने भन्ने दलहरुको भूमिका हुन्छ ।’ उनले भने, ‘जहाँसम्म मेरो कुरा छ, राष्ट्रिय सभा अध्यक्षले प्रभावकारी बनाउनका लागि, उहाँहरुले विचार राख्नका लागि कहीँ अवरोध पनि गरेको छैन । राम्रो ढंगले जाने कुरामा मैले सबैलाई विना भेदभाव, म दावाका साथ भन्छु म भन्दा पूर्ववर्ती प्रतिनिधि सभाका या राष्ट्रिय सभाका कसैको तुलनामा मैले पक्षपात गरेको छैन ।’
राष्ट्रिय सभा सदस्यमा विज्ञ व्यक्तित्वहरुको प्रतिनिधित्व हुनुपर्ने भएपनि यो हुन नसकेको उनको स्वीकारोक्ति छ । संवैधानिक र कानुनी हिसाबमा राष्ट्रिय सभा सदस्य आउने गरेको उनले बताए । कानुनमा व्यवस्था भएको क्लाष्टमा दलहरुले उम्मेदवार पठाएको उनले बताए ।