काठमाडौं, २६ पुस । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी) लाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुङ्ग्यो लगाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
आज (बिहीबार) कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले उक्त विधेयक बहुमतीय प्रक्रियाबाट भएपनि अगाडि बढाउनुपर्ने धारणा राखेका हुन् । साथै, उनले टीआरसी विधेयक एमालेका कारण रोकियो भनेर समाजमा गलत प्रचार भएको भन्दै आपत्ति जनाए ।
विधेयक निर्माण प्रक्रियाअनुसार अगाडि बढाइँदा एमालेले कुनै अवरोध नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला तर एमालेले रोक्यो भनेर प्रचार गर्न खोजिएको छ । त्यो गलत हुन्छ,’– बर्तौलाले भने ।
टीआरसी विधेयक निर्माणका क्रममा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहँदा मिलिजुली कानुन बनाए भन्ने गलत सन्देश नजाओस् भन्नेतर्फ पनि सचेत हुन आवश्यक रहेको उनले बताए ।
टीआरसी विधेयकमा एमालेले पीडितलाई न्यायको सुनिश्चितता, द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला र व्याख्याको कार्यान्वयनको सुनिश्चितता, गम्भीर अपराधका कसुरमा छुट दिन नहुने, अन्तर्राष्ट्रिय मुल्य मान्यतालाई पनि आत्मसात गरिनुपर्ने बताउँदै आएको छ ।