Logo

शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल चलाउन नदिन प्रअहरुलाई नीलकण्ठ नगरपालिकाको निर्देशन



काठमाडौं,२७ पुस । धादिङको नीलकण्ठ नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले विद्यालयका नाममा ५ बुँदे निर्देशन जारी गर्दै कक्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानाध्यापकले मोबाइल सुरक्षित राख्न भनेको छ ।

नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जारी गरेको सूचनामा भनिएको छ‘खाजा खाने समयबाहेक शिक्षकहरूले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने,सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने,।

त्यस्तै नगरपालिकाले सम्पूर्ण विद्यालयहरुमा इन्टरनेट सेवा र माध्यमिक विद्यालयहरुमा आइसिटी ल्याव व्यवस्थापन भइ सकेको र स्थायी शिक्षकहरु तथा विद्यालयहरुमा ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण भै सकेको सकेको सन्दर्भमा ल्यापटप प्राप्त शिक्षक विद्यालयहरुले शैक्षिक तथा प्रशासनिक कार्यका लागि अनिवार्य ल्यापटप प्रयोग गर्न पनि निर्देशन जारी गरेको छ ।

नगरपालिकाले विद्यालयमा कुनै पनि किसिमको पत्रु खाजा, सुर्तिजन्य पदार्थ र मदिरा निषेध गर्ने, विद्यालय हाता भित्र शिक्षक र विद्यार्थीहरुको समन्वयमा कम्तिमा हप्ताको २ दिन सरसफाइ गर्ने,गराउने व्यवस्था मिलाउने,र कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले विद्यालयमा तथा विद्यालयको कामले तालुक कार्यालयहरुमा जादा अनिवार्य विद्यालय पोसाक लगाउनु पर्ने, सो कार्यमा बाहेक विद्यालय कर्मचारीहरुले पोसाकको प्रयोग गर्न नपाइने व्यवस्थासमेत मिलाउन प्रअहरुलाई निर्देदन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्