काठमाडौं, २८ पुस । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालका शीर्ष नेतादेखि युवा नेताहरुसँग असामान्य पैसा रहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पाँच करोड घरमा नभएका नेताहरु कोही पनि नरहेका दाबी गरेका हुन् । उनले नेपालका कोही पनि नेताहरु जनताप्रति प्रतिवद्ध नरहेको र राजनीतिलाई व्यवसाय बनाएर पैसा कमाएको आरोप लगाएका छन् ।
‘त्यो जोगी (रामबहादुर बम्जन) विचरा तीन करोड त्यहीँ फेला पर्यो । जहाँ जोगी यस्तो छ, भोगी कस्तो होला त ? अहिले नेताहरुको घरमा त्यसरी छापामार्ने हो भने पाँच करोड नभएको मलाई लाग्छ कुनै पनि नेता छैनन्,’– उनले भने ।
अहिले नेपालमा सबैभन्दा धेरै पैसा भएका नेताहरुमा क्रमशः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भएको उनको दाबी छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेसँग पनि असामान्य पैसा रहेको उनले आरोप लगाए ।
‘उनी (प्रचण्ड) सँग प्रकाण्डले युएईमा ४३ अर्ब छ भनेका छन् । बाबुरामले २० अर्बको घोटला गरेको भनेका छन् । मैले बोल्नै परेन । ओलीको कम्बोडियादेखि मंगोलियासम्म लगानी छ भनेर दुर्गा प्रसाईँले नै भनिरहेका छन् । मैले बोलिरहनु पर्छ र ? अब नेबानीको घोटला ४ अर्ब ३५ करोड भन्ने लेखा समितिले नै विगो उठाएको छ । त्यो विगो शेरबहादुरलाई छ । माधव कुमार नेपालसँग पनि पैसा नहुने कुरा छैन,’– उनले भने ।
साथै, पासपोर्ट बेच्ने धनराज गुरुङ कानुनमन्त्री बनेको भन्दै उनले टिप्पणी गरे । मन्त्री गुरुङसँग पनि अथाह पैसा रहेको उनको दाबी छ । माओवादीका युवा नेताहरु जनार्दन शर्मा, वर्षमान पुनलगायतका युवा नेताहरुसँग पनि अर्बभन्दा कम पैसा नरहेको उनको दाबी छ । उनले प्रधानमन्त्रीकी छोरी गंगा दाहाल अर्की सुजाता कोइराला भएको टिप्पणी गरे ।
अहिले विद्यार्थी युनियनबाट नै भ्रष्टाचार सुरु हुने उनको दाबी छ । उनले सबैभन्दा भ्रष्ट संस्था अहिलेको अवस्थामा विद्यार्थी युनियन रहेको ठोकुवा गरे ।