काठमाडौं,१ माघ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत दोस्रो खेलमा कोशी प्रदेशले खराब प्रदर्शन गर्दै विभागीय टिम एपीएफलाई १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मूलपानीस्थित मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोशी ४४।३ ओभरमा १३५ रनमा अलआउट भयो । कोशीका लागि फिर्दोस अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेलपनि अन्य कूनैपनि ब्याटरले हात खोल्न सकेनन् । सोनु अन्सारीले २० रन थप्दा कप्तान अंकित सुवेदीले १३ रन जोडे ।
बलिङतर्फ एपीएफका कप्तान रोहितकुमार पौडेल र अभिनाष बोहराले समान ३ विकेट लिए । अमर रौटेलाले पनि २ विकेट लिए । पहिलो खेलमा शानदार जित निकालेको एपीएफ लगातार दोस्रो जित निकाल्ने सोचमा रहेको छ भने कोशी पहिलो खेलमा मधेशसँग भारी अन्तरले पराजित भएको थियो ।