काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसलाई कोशी प्रदेशले १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ४८।२ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो । कोशीका लागि सुजन थपलियाले शानदार शतकीय पारी खेले । टिमका लागि वान म्यान आर्मीको भूमिकामा रहँदै सुजनले शतक प्रहार गरेका हुन् । उनले १२६ बलको सामना गर्दै ८ छक्का र ६ चौका हिर्काउँदै १०५ रनकबो शानदार पारी खेले । ६४ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा मैदान छिरेका सुजनले अभ्यास तिमिल्सिनासँग मिलेर शानदार प्रदर्शन गरेका हुन् । अभ्यास २३ रन बनाएर आउट भए ।
सुजनको शतक यस संस्करणको पीएम कपको चौथो शतक हो । यसअघि रसिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए । बलिङतर्फ पुलिसका करण केसीले तीन तथा सुनिल धमला र ललित राजवंशीले २ विकेट लिए ।