काठमाडौं,३ माघ । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकी गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक जना पकाउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो।
गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । सन्दीपलाई अन्याय भएको भन्दै उनका समर्थकहरुले पीडित भनिएको युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा आफ्ना तस्बिर छ्यापछ्याप्ती भएपछि गौशाला २६ प्रहरीको केन्द्रीय साइबर ब्यूरामा पुगेकी थिईन् । । कानूनतः यौनजन्य मुद्दामा जाहेरी दिने महिलाको तस्बिर र पहिचान खुलाउन नपाइने कानूनी व्यवस्था छ । गौशालाले प्रहरीमा उजुरी गरे पनि तस्बिर शेयर हुने क्रम रोकिएको छैन । गौशालाको इन्स्टाग्राम एकाउन्टबाट उनका पुराना तस्बिर कसैले पोस्ट गरेपछि भाइरल भएको हो ।
पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।