Logo

कमजोर कोशीविरुद्ध बलियो टिम आर्मीको रवाफ



काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालको छ ।

दोस्रो जित निकाल्नेक्रममा आर्मीले कोशीलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले खेलको १० ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि ओपनर सन्तोष कार्कीले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रनमा नटआउट रहे ।

त्यस्तै ७ बलको सामना गरेका कुशल मल्लले ४ चौका र १ छक्का हिर्काउँदै २२ रन जोड्दा इमरान शेखले २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन नै जोडे । तीन खेलबाट आर्मीले ४ अंक जोड्दा चौथो खेलमा पनि पराजित कोशी अंकविहीन रहेको छ ।

यसअघि शाहब आलमको घातक बलिङसामू कोशी २५ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको थियो । माथिल्लो मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको कोशी २५ ओभरमा ८८ रनमा अलआउट भयो । उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसविरुद्धको खेलमा शानदार शतक हानेका सुजन थपलिया आज ८ रनमा आउट हुँदा सोनु अन्सारी, कमल खत्री,अभ्यास तिमिल्सिना, सौजन घिमिरे र हेमन्त राई शून्य रनमै आउट भए । भने कोशीले १९ रन अतिरिक्तमा पायो ।

कोशीको पारी धरापमा पार्न आर्मीका शाहब आलमले घातक बलिङ गरे । ६।४ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै १४ रन खर्चिएर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए । आर्मी अघिल्लो दिन मुलपानीमा बागमतीसँग तीन विकेटले स्तब्ध भएको थियो । आर्मीले पहिलो खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराएको थियो । 



प्रतिक्रिया दिनुहोस्