Logo

प्रधानमन्त्री कपमा कोशीको विर्सनलायक प्रदर्शन, ‘कोच मामा’ र खेलाडी ‘भाञ्जा’ को विवाद के हो ?



काठमाडौं,६ माघ । गत शनिबारदेखि सुरु भएको छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका खेलहरु जारी रहेका छन् । शुक्रबारसम्म प्रतियोगिताका १७औं खेल समाप्त भईसकेको छ ।

प्रतियोगिताको १७औं खेल सकिँदासम्म ३ खेलबाट ६ अंक बटुलेको सुदूरपश्चिम प्रदेश अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने ५ खेल खेलेको कोशी प्रदेश जितविहीन रहँदै अंक तालिकाको पुच्छरमा रहेको छ ।

कुनै समय नेपालको पूर्वी क्षेत्र राष्ट्रिय क्रिकेट टिममा महत्वपूर्ण स्थान ओगट्ने क्षेत्रको रुपमा लिइन्थ्यो । तर, जारी प्रधानमन्त्ती कप क्रिकेटमा भने कोशी प्रदेशको प्रदर्शन कुनैपनि सम्झनलायक छैन् । शुक्रबार बागमती प्रदेशसँग ६४ रनले पराजित भएको कोशीको लगातार पाँचौं हार हो । यो हारसँगै कोशी फाइनलको दौडबाट बाहिरिएको छ भने एकाधबाहेकका अन्य खेलाडीको तीव्र आलोचना भईरहेको छ ।

पहिलो पटक डबल राण्ड रोविनको आधारमा सञ्चालन भईरहेको प्रधानमन्त्री कप अगाडि प्रत्येक जिल्लामा खेलाडी छनोट गरिएको थियो ।

प्रदेशस्तरिय छनोटमा रामो किपिङ्ग गरेर नटआउट स्कोर खेल्दै टिमलाई जिताएका कतिपय खेलाडीलाई टिममा मौका नदिईएको भन्दै टिम छनोटकर्ताहरुमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ । यो आलोचनाको भुंग्रोमा परेका छन् कोशी प्रदेशका टिम प्रशिक्षक राजु थापा ।

राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका थापामाथि आफ्नै भाञ्जालाई टिममा समावेश गरेको आरोप लागेको छ । मुख्य प्रशिक्षक पुष्प थापामाथि आफ्ना भाञ्जा मिनाश थापालाई टोलीमा राखेको आरोप लागेको छ । आरोपलाई बलपुग्ने गरी मिनाशले निरन्तर खराब प्रदर्शन पनि गरिरहेका छन् । जसले गर्दा सामाजिक सञ्जालमा प्रशिक्षक थापामाथि प्रश्न उठाउनेहरु बढेका छन् ।

टिमले हालसम्म ५ खेल खेल्दा ४ खेलमा खेल्ने मौका पाएका मिनाशले जम्मा ३ रन जोड्न सकेका छन् । उनले १, ०, २ र ० मा आउट भएका छन् । कोशीले बिहीबार त्रिभुवन आर्मीसँग खेलमा मिनाशलाई बेञ्चमा राखेको थियो ।

मिनास कोशी प्रदेशका विकेट किपर ब्याटरको रुपमा टिममा समावेश छन् । टिमका लागि विकेट किपर रहेका सिद्धान्त लोहनी हाल व्यक्तिगत कारणले टिमबाहिर रहँदा उनको स्थानमा मिनाशले मौका पाएका हुन् ।

सामाजिक सञ्जालमा आलोचकहरुले प्रदेशस्तरिय छनोटमा इलाम जिल्लाका शिवांस बजगाइलाई किपिङमा नलगेर मामा प्रदेशको कोच रहेकै कारण मिनाशलाई टिममा राखेको आरोप लगाईराखेका छन् ।

मिनाशमाथि कुनैपनि जिल्ला स्तरिया प्रतियोगितामा किपिङको भूमिकामा नरहेको र एउटा म्याचमा किपिङ नगरेको भन्दै कुन आधारमा टिममा राखेको हो भन्दै प्रश्न उठाईरहेका छन् ।

कोशी प्रदेशले आफ्नो सार्वजनिक गरेकै दिनबाट खेलाडीहरुलाई लिएर तीव्र विवाद भएको थियो । मिनाशमात्र होइनन् प्रदेशले १४ खेलाडी टिममा राख्दा झापाबाट मात्र ७ जनालाई टिममा राखेको भन्दै चौतर्फी आलोचना भईरहेको छ । यद्यपि टिमको हालसम्मको प्रदर्शनलाई हेर्दा झापामा सुजन थपलिया र कप्तानसमेत रहेका अंकित सुवेदीबाहेक अन्य कुनैपनि खेलाडीको प्रदर्शन सम्झनालायक छैन् ।

जिल्लास्तरीय छनोटको पहिलो म्याचमा ९८ रनको पाली खेलेका र प्रतियोगिताभर १४० रनभन्दा धेरै रन जोडेका झापाका भुपाल दंगाललाई टिममा नराखी जम्मा प्रतियोगिताभरी ४० रन बनाउने समीर कार्की टिटमा परेको भन्दै उनको बारेमा पनि प्रश्नहरु उठिरहेका छन् ।

खेलाडी छनोटका लागि कोशी प्रदेशले सुरेश गुरागाईं, मनोज मण्डल र सुमेश शाह रहेको छनोट समिति बनाएको थियो । समितिका सदस्य गुरागाईं नेपाल क्रिकेट संघ कोशी प्रदेश कमिटीका केन्द्रीय सदस्य समेत हुन् र प्रधानमत्री कपमा कोशीको व्यवस्थापकका रुपमा आएका छन् ।

कोशीका कप्तान अंकित सुवेदी भने कसैले व्यक्तिगत रिसीइबी पोखेको बताउँछन् । ‘यो व्यक्तिगत टार्गेट गरेको हो, कुनै मान्छेको व्यक्तिगत रिसिइबी पनि होला’, त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बागमतीसँग खेलेपछि उनले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘एउटाले सल्काएको आगो अर्काले बढाएको हो । अरु त्यस्तो केही होइन ।’

उनका अनुसार छनोटमा मिनाशले राम्रो गरेका थिए । ‘छनोटकर्ताहरुले खेलाडीको खेल्ने तरिका पनि हेर्नुहुन्छ । जसले प्रदर्शन गर्‍यो उसैलाई ल्याएको हो’ त्यसमाथि मिनाश अनुभवी खेलाडी भएको भन्दै उनले भने, ‘टिममा एकदुई जना अनुभवी खेलाडी पनि चाहिन्छ । छनोटमा कुनै विवाद छैन ।’



प्रतिक्रिया दिनुहोस्