Logo

न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा



काठमाडौँ,७ माघ । न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ ।

लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

न्याय परिषद्मा परेका उजुरी र मुद्दामा मोलाहिजा, क्षमताको अभाव र बदनियत लगायतका विषयमा न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिनका समिति गठन गरेको थियो ।

०७९ असार २७ गते धनुषाका जिल्ला न्यायाधीश रहेका डा. परशुराम भट्टराईलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा काजमा तानेको थियो । व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएको उजुरीका आधारमा न्याय परिषद्ले उनी र उनको फैसलामा छानबिन गरेको थियो ।

०७६ कार्तिक ६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । उक्त घटनाका अभियुक्त दामोदरप्रसाद चौधरीलगायतलाई आरोप पुष्टि नहुने भन्दै भट्टराईले सफाइ दिएपछि उनीविरुद्ध उजुरी परेको थियो । भने उनले धनुषमका नै रहँदा कुमारी आमा निहारिका राजूतको मुद्दामा पनि गरको फैसला विवादित बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्