Logo

प्रधानमन्त्री कप क्रिकेटमा पहिलो पटक एकै संस्करणमा ७ शतक



काठमाडौं,८ माघ । गत शनिबारदेखि जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एकै संस्करणमा पहिलो पटक ७ शतक बनेका छन् ।

छैटौं संस्करणको प्रधानमन्त्री कप त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी र भैरहवामा जारी छ ।

सोमबारसम्म लिग चरणका २३ वटा खेल सम्पन्न भईसकेका छन् । सोमबार एकैखेलमा दुई शतक प्रहार भएका छन् । सोमबार मधेश प्रदेशविरुद्ध सुदूरपश्चिमका नरेन भट्टले प्रहार गरेको शतक यस संस्करणको सातौ शतक हो ।

सुदूरपपिश्चमविरुद्ध भट्टले १२२ बलको सामना गर्दै १३ चौका र १ छक्का हिर्काउँदै १२१ रनको शतकीय पारी खेलेका थिए । यसअघि आजै सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गरेको मधेशका लागि मयन यादवले पनि शतक प्रहार गरेका थिए ।

प्रधानमन्त्री कप एकदिवसीयको यस संस्करणको छैटौं शतक हान्नेक्रममा मयनले १२८ बलको सामना गरी ८ चौका र २ छक्कासहित ११५ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यसअघि गत शुक्रबार बागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध १ सय ११ बलमा १६ चौका र २ छक्कासहित ११८ रनको शतकीय इनिङ खेलेका थिए । जारी प्रतियोगितामा त्यो पाँचौं शतक हो ।

यसअघि पुलिसका राशिद खानले बागमती प्रदेशविरुद्ध १०६ रन, एपीएफका सन्दीप जोराले बागमतीविरुद्ध नै ११२, कोशीका सुजन थपलियाले पुलिसविरुद्ध १०५ र आर्मीका विनोद भण्डारीले मधेशविरुद्ध १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।

विनोद बाहेक अन्य ६ खेलाडीले पहिलो पटक आफ्नो करिअरमा शतक हानेका हुन् ।प्रधानमन्त्री कपको इतिहासमा पहिलो पटक एकै संस्करणमा ७ शतक बनेका हुन् ।

यसअघि २०१८ र २०२२ को संस्करणमा ४–४ शतक बनेका थिए ।

यसअघिका संस्करणमा प्रधानमन्त्री कप १० टोलीलाई दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुँदै फाइनलको रुपमा आयोजना हुने गर्दथ्यो ।

तर पहिलो पटक प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा भएको छ । शीर्ष दुई टोलीले फाइनल खेल्न पाउनेछन् । यसअघिका संस्करणमा एक टोलीले बढीमा ६ खेल खेल्न पाउँथे ।

अब लिगसँगै सबै टोलीले कम्तिमा ९ खेल खेल्न पाउनेछन् । फाइनल पुग्ने दुई टोलीले एक एक खेल बढी खेल्न पाउनेछन् ।

हालसम्म ४ खेलबाट शतप्रतिशत जित निकालेको विभागीय टिम नेपाल पुलिस क्लब ८ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित बागमती दोस्रो स्थानमा र समान अंकसहित मधेश प्रदेश तेस्रो स्थानमा रहेको छ । यता ६ अंक जोडेको सुदूरपश्चिम प्रदेश चौथो स्थानमा रहँदा हालसम्म ६ खेल खेलेको कोशी प्रदेश हालसम्म जितविहीन रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्