काठमाडौं, ९ माघ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले जनता समाजवादी पार्टीको भन्दा बढि मत ल्याएर पनि आफूहरुलाई ठूला तीन दलले स्थान नदिएको भन्दै असन्तुष्टि पोखेका छन् । मधेश प्रदेशका जनताले जनमतको नेतृत्वमा सरकार बनेको हेर्न चाहेका भएपनि कांग्रेस, एमाले र माओवादीले आफूहरुलाई स्थान नदिएको उनको भनाइ छ ।
‘कहिले सोच्नु भएको छ– जसपाभन्दा बढी मत ल्याएको जनमत पार्टीलाई किन काँग्रेस, एमाले वा माओवादीले स्थान दिँदैन, किन मुख्यमन्त्री बनाउँदैन, किन छेऊ आउन दिँदैन ?’ उनले सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै भनेका छन् ।
सत्तारुढ गठबन्धनमा समेत रहेका जनमत र जसपाबीच पछिल्लो समय सतहमै आउने गरी विवाद चुलिएको छ । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यसको विषयलाई लिएर दुई दलका नेता तथा कार्यकर्ताहरु तल्लोस्तरको गाली र हर्कतमा समते उत्रिएका छन् ।