काठमाडौं, ११ माघ । जनकपुरबाट आम जनता पार्टी (आजपा) का नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आजपाले आज मधेश बन्दको आवह्वान गरेको थियो । आजपाद्वारा आह्वान गरिएको बन्द सफल गराउन प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साहलाई लगायत दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई धनुषा प्रहरी कार्यालयमा राखिएको छ ।
त्यसैगरी, उपाध्यक्ष रीतादेवी साह, उपमहासचिव अरुण घिसिङ, सचिव एवं पूर्वसांसद समिना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सय जना बढिलाई पक्राउ गरी प्रहरी प्रदेश कार्यालयमा राखिएको छ ।
आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इन्चार्ज सिमल साहमाथि प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ्तार गरिएको आजपाको आरोप छ । प्रदेश अध्यक्ष उमेश कुशवाहा र प्रभु साहको स्वकीय सचिव विजय यादव लगायत दर्जनौंलाई वीरगञ्ज जिल्ला प्रहरीमा र रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीलगायतका प्रदर्शनकारी पनि पक्राउ परेका छन् ।
आजपाले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मधेश बन्दको आह्वान गरेको थियो । आजपाका नेता तथा कार्यकर्ताहरु आज विहानैदेखि बन्द सफल गराउन भन्दै प्रदर्शनमा उत्रिएका थिए । मधेशमा आजपाले आहह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । File Photo/RN