काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भघएकी छन् । उनले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १७ जनाले फ्लोर क्रस गरेका छन् ।
प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।
कोशीमा एमाले उम्मेदवार जिताउन कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले १७ जना स्थानीय तहका र तीन जना प्रदेश सभाका मतदातालाई फ्लोर क्रस गरेको स्रोतको दाबी छ । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।