Logo

भेपमा सुन तस्करी प्रकरण: राहुल महरालाई छाड्न उच्च अदालतले गर्‍यो अस्वीकार



काठमाडौं,११ माघ । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्दय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।

काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।



प्रतिक्रिया दिनुहोस्