काठमाडौं,१२ माघ । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग शानदार सुरुवात गरेको छ । सुरुवाती ६ ओभरमै ३ विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ ।
तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ । त्यस्तै छैटौं ओभरमा पुनः आकाशले ओपनर जमसिद जार्डनको विकेट लिँदै नेपाललाई शानदार सुरुआत दिलाएका छन् । उनी ३ रनमा आउट भएका छन् ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ६ ओभरमा ३ विकेट गुमाउँदै १७ रन बनाएको छ ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।
दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।