काठमाडौं, १२ माघ । हिरासतबाट थुनुवा भगाई आफूपनि भागेका पूर्व प्रहरी जवान वीरबल राय यादव पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार पूर्वप्रहरी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका पूर्वप्रहरी जवान यादवले लागुऔषधसहित पक्राउ गरेका भारतीय नागरिक असरफ आलमलाई भगाई आफूहरू भागेका थिए । उनी १६ वर्षपछि पक्राउ परेका हुन् । उनलाई उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरेको थियो ।
एक करोड रुपैयाँ दिने सहमतिमा उनले असरफ आलमलाई हिरासतबाट भगाएको खुल्न आएको छ । आलमले एक करोड दिने सहमति गरे पनि उनले ६ लाख २५ हजार रुपैयाँ पाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । त्यसपछि भारतमा ट्याक्सी व्यवसाय गरी बसेका पूर्वप्रहरी जवान यादवसँग हाल ९ वटा ट्याक्सी, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमतिपत्र रहेको खुल्न आएको प्रहरीले जनाएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल