Logo

माधव नेपाललाई अघि सारेर प्रचण्डलाई विस्थापित गर्ने कांग्रेसको दाउ



काठमाडौं,१८ माघ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । बिहीबार गृहजिल्ला नवलपुरमा पार्टीनिकट प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने र पूर्व सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ । यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छ ’ कोइरालाले भने । नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड जून लक्ष्य र उदेश्यका लागि प्रधानमन्त्री बनेको हो, सो नै नभएपछि विकल्प खोजनुपर्ने उनको भनाइ छ ।

त्यसो त कोइरालामात्रै नभएर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने आवाज सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीमा चर्को बन्दै गएको छ । कांग्रेसको संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, सुनिल शर्मा, शंकर भण्डारीलगायतले यसअघि नै प्रचण्डको विकल्प खोज्न पार्टीलाई दवाव दिँदै आएका स्रोतको दाबी छ ।

संस्थापनइतर समूहले जतिसुकै दवाव दिएपनि कांग्रेस सभापति शेरबहादुर देउवा टसमस नभएपछि यी आवाजहरु फिक्का बन्दै गएका थिए । तर, गत बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको मतपरीणाम सार्वजनिक भएपछि भने सत्ता साझेदार दलबीच अविश्वास र आशंका सिर्जना भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा अन्य सबै स्थानमा सत्तारुढ दलका उम्मेदवार विजयी बन्दा कोशी प्रदेशमा भने नतिजा उलटफेर ल्याउँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्याशीत जित हात पारेकी थिईन् । कोइरालाले जित हात पार्ने क्रममा माओवादी केन्द्रकी चम्पा कार्की पराजित भईन् । झण्डै ८०० मतले पछि रहेको एमालेले नाटकीय जित निकाल्दा सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व गरिरहेका शेखर समूहले एमालेलाई मत दिएको थियो ।

गठबन्धनको स्प्रिटविपरीत विपक्षी उम्मेदवार जिताएको भन्दै कांग्रेससँग सत्ता-सहकार्यको विकल्प खोज्नुपर्ने आवाज माओवादीमा चर्को रुपमा उठिरहँदा यता सत्ता साझेदार दल कांग्रेसले नै स्वयं प्रचण्डको विकल्प खोज्नुपर्ने बताएपछि राजनीतिक रुपमा केहि उलटफेर हुने संकेत देखिएको स्रोतको दाबी छ ।

कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिने नेता शशांक कोइरालामात्र होइनन् अर्का विश्वासपात्र विमलेन्द्र निधिले पनि प्रचण्डको विकल्प खोज्नुपर्ने संकेत गरेका छन् । उनले मंगलबार दाङमा प्रचण्डपछि पूर्वसहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै यसको संकेत गरे । ‘एकीकृत समाजवादी एमाले पार्टी टुर्किएर बनेको हो, हामीलाई साथ दियो त्यसकारणले जसले हामीलाई साथ दियो नेपाली कांग्रेस पार्टीको नैतिकता बन्छ त्यसकारण हामीले नेपाललाई चुनाव अगाडि सेकेण्ड फेजमा प्रधानमन्त्रीमा अवसर दिने समझदारी गरेका छौं।’

निधि र कोइरालामात्र होइन, कांग्रेसमा देउवाका प्रभावशाली नेता मानिने पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि प्रचण्डसँग रुष्ट छन् । कांग्रेसमा देउवाको उत्तराधिकारीको रुपमा हेरिएका खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाएको भन्दै एउटा समूह प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रुष्ट छ । झण्डै ७ महिना कारागारमा बसेर उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका खाँणले जेलबाट छुटेलगत्तै पार्टी सभापति देउवालाई भेटेर प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार खाँणको कुरा देउवाले महत्व नदिएपछि उनले संस्थापनइतर समूहका नेताहरु शेखर कोइराला र चन्द्र भण्डारीसँग गोप्य भेटवार्ता गरेका थिए । उक्त गोप्य वार्तामा देउवालाई संसदीय दलको नेताबाट हटाएर एमोलसँग मिलेर भएपनि शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको थियो । यता, सभापति देउवाकी श्रीमतीसमेत रहेकी सांसद तथा संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजू राणा देउवा पनि सरकारको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेकी छन् । उनले केहि दिनअघि एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको स्रोतको दाबी छ । उक्त भेटमा प्रचण्ड सरकारको विकल्पको बारेमा छलफल भएको बताईएको छ । बुहारी भित्र्याउने चटारोकाबीच बालकोट पुगेकी राणालाई अध्यक्ष ओलीले पनि कांग्रेससँग मिलेर अघि बढ्न तयार रहेको सन्देश दिएका छन् ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचारका पुराना फाइल धमाधम खुल्दै गएको छ । नक्कली शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरणदेखि सुन प्रकरणसम्म प्रचण्ड नेतृत्वको सरकारले गहिरो तहमा पुगेर छानबिन गरिरहेको छ भने आजमात्रै बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरीसहति तीन जना पक्राउ परेका छन् । उनी कांग्रेसका सांसदसमेत रहेका सीजी ग्रूपमा मालिक विनोद चौधरीका सहोदर भाई हुन् ।

यता सत्ता समिकरणमा भएको सहमतिनुसार प्रचण्डपछि प्रधानमन्त्री बन्ने बाटो कुरेर बसेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि वर्तमान सरकारको विकल्प खोज्नेबारे संकेत गरेका छन् । आजमात्र जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डबारे छानबिन गर्ने भनेर बोलेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले भने, ‘गिरिजा बाबु त मसँग सल्लाह नगरी त्यो विषयमा बोल्नुहुन्नथ्यो । उहाँ (प्रधानमन्त्री) कसरी अचानक बोल्नु भयो खै !’

यता, प्रधानमन्त्रीको कुर्सीमा तेस्रोपटक आसिन रहेका प्रचण्ड यस कार्यकाललाई स्वर्णिम बनाउनुपर्ने दवाव र बाध्यतामा छन् । १० वर्षसम्म सञ्चालन भएको जनयुद्धले प्राप्त गरेका उपलब्धि पटक-पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि सम्बोधन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ भने दिनप्रति दिन माओवादी केन्द्रको मत घट्नेक्रममा रहेको छ । यसपटक ती सबै आरोपलाई सम्बोधन गरेर प्रधानमन्त्रीको कुर्सीबाट बिदा हुने लक्ष्यमा रहेका प्रचण्ड त्यसैले पनि पटक पटक सुशासन र विकासको रटान लगाईरहेका छन् । उनले बरु एमालेसँग नयाँ सत्ता सहकार्य गरेरै भएपनि यसपटक आएको कुनैपनि अवसरलाई खेर नफाल्ने मनस्थिति बनाएका छन् ।

कांग्रेससँगको सत्ता सहकार्यका संकट उत्पन्न हुने संकेत पाएपछि प्रचण्डले आफ्नै तहबाट नयाँ शिराका साथ एमालेसँग छलफल अघि बढाएका छन् । एमाले-माओवादी सत्ता सहकार्य हुने-नहुने राष्ट्रिय सभाको अध्यक्ष पदमा माओवादी र कांग्रेसबीच भएको दाबी, र माओवादीले कुनैपनि हालतमा उक्त पद नछोड्ने संकेत गरिसकेको छ । यसको नतिजा कुर्न अध्यक्षको निर्वाचनसम्म पर्खिनुपर्ने देखिनेछ । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषद्मा आफ्नो दलको उपस्थिति शून्य हुने बुझेका प्रचण्डले कांग्रेसँगै सहकार्य गर्छन कि एमालेसँग मिल्छन् त्यो भने समयले देखाउनेछ ।



प्रतिक्रिया दिनुहोस्