काठमाडौं,१९ माघ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित अस्पताल भर्ना गरिएको हो । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थापा र चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएलगत्तै उनीहरुलाई चिरायु अस्पताल पुर्याईएको हो । पक्राउ परेका अरुण चौधरी नेपाली कांग्रेसका सांसद, उद्योगपति तथा सीजी ग्रूपका मालिकसमेत रहेका विनोद चौधरीका सहोदर भाई हुन् भने थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका काकाका छोरा तथा पूर्वमन्त्री एवं पराराष्ट्रविद् डा भेषबहादुर थापाका सम्धी हुन् ।
थापा र चौधरीमाथि बाँसबारी छालाजुत्ता काराखानाको १० रोपनी जग्गा हडपेको आरोप लागेको छ । पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । पक्राउ परेका चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन् ।
नेपालमा पछिल्ला दिनहरुमा ठगी, र अन्य फौजदारी आरोपमा पक्राउ परेपछि उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिहरू अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा समाजमा पहुँच हुनेहरु अस्पतालको भीआपी कक्षमा बसेर कानुनी लँडाईं लड्ने र शक्ति नहुनेहरु अपराध पुष्टि नभएपनि लामो समयसम्म हिरासतमा बस्नुपर्ने बाध्यता रहेको छ ।
नेपालमा पछिल्ला केहीवर्षको गतिविधि हेर्ने हो भने कुनैपनि आरोपमा पक्राउ परेका विभिन्न उच्च पदस्थ व्यक्तिहरु हिरासतमा बस्न छाडेर अस्पतालको भीभीआईपी कक्षमा बस्ने गरेका छन् ।
घटना -१
२०७८ सालमा मोरङमा भएको सवारी दुर्घटनामा एक जना भारतीय नागरिकको ज्यान गयो भने एक नेपाली गम्भीर घाइते भए । उक्त दुर्घटना गराउने व्यक्ति थिए रविनसिंह कार्की । कार्की कोशी प्रदेश सभाकी तत्कालीन सांसद तथा नेपाली कांग्रेसकी नेतृ विन्दिया कार्कीका छोरा हुन् । माधक पदार्थ सेवन गरेर सवारी चलाई दुर्घटना गराएको भनी २०७८ असोजमा मोरङ जिल्ला अदालतले कार्कीलाई ३ वर्ष कैद र ३५ हजार जरिवानाको फैसला सुनायो । अदालतको फैसलापछि केही दिन कारागारमा बसेका उनी अचानक स्वास्थ्यमा समस्या देखिएको भन्दै विराटनगरको नोबल मेडिकल अस्पतालमा भर्ना भए र लामो समय अस्पतालमै बसे । उनी अस्पतालमै रहँदै ०७८ पुस २० मा उच्च अदालत विरोटनगरले जिल्लाको फैसला केहि उल्ट्याउँदै उनलाई ६ महिना १५ दिन कैद र २ हजार जरिवानको फैसला सुनायो । यसरी उनी हिरासतमा बस्दै नबसी शक्ति र पहुँचका आधारमा अस्पतालबाटै रिहा भएका थिए ।
घटना- २
तत्कालीन सभामुख तथा हालका माओवादी केन्द्रमा उपाध्यक्ष कृष्णबहादुर महरामाथि २०७६ साल असोजमा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लाग्यो । बलात्कारको आरोप लागपछि उनलाई प्रहरीले निवासबाटै पक्राउ गर्यो । प्रहरीले पक्राउ गर्नासाथ स्वास्थ्यमा समस्या देखिएको भन्दै असोज २३ मा महरा नर्भिक अस्पतालमा भर्ना भएका थिए । रेगुल चेकअपका लागि भन्दै अस्पतचाल पुगेका महरा आकस्मिक स्वास्थ्य सम्या देखिएको भन्दै लामो समय अस्पतालमै बसेका थिए । पछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागारमा पुगेका महराले पछि सफाइ पाएका थिए ।
घटना- ३
ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परे । गत असार १२ गते पक्राउ परेका उनी हिरासतमा पुगेलगत्तै स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पतालमा भर्ना भएका थिए । लामो समय अस्पताल बसेका गुरुङ जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा भईसकेका छन् ।
घटना- ४
२०७६ सालमा तत्कालीन नेकपा नेतृत्वको दुई तिहाइ सरकारका गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा संगठित अपराध र ठगीको आरोपमा पक्राउ परे । पक्राउ पर्नासाथ बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएका उनी लामो समय अस्पतालको भीभीआईपी कक्षमा बसे । सुरुमा अस्पताल लान आनाकानी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बहालवाला गृहमन्त्रीको भाई भन्ने थाहा पाउनासाथ तुरुन्तै चिरायु अस्पतालमा पुर्याएको बताइन्छ ।
घटना- ५
आफ्नै आश्रममा रहेकी एक अनुयायीलाई जबरजस्तीकरणी गरेको आरोप लागेपछि सिद्धबाबा भनिने इश्वरकृष्ण गिरी २०७६ सालमा विराटनगरको एक निजी अस्पतालमा भर्ना रहेको अवस्थामा पक्राउ परे। उनी आफूमाथि बलात्कारको आरोपमा उजुरी परेको चालपाएपछि हतपत अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था जाँच गर्ने डाक्टरका अनुसार उनलाई अस्पतालमै भर्ना भएर बस्नुपर्ने कुनैपनि प्रकारको स्वास्थ्य समस्या भने देखिएको थिएन ।लामो समय अस्पताल र पछि प्रहरीको हिरासतमा बसेका गिरीको मुद्दा हालपनि टुंगिएको छैन् ।
पक्राउ परेका ब्यक्ति किन हिरासतमा रहन्छन ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोेमा कार्यरत प्रहरीहरुका अनुसार कुनैपनि घटनाका आरोपीतलाई मुख्यगरी तीन कारणले हिरासतमा लिईने गरेको छ । आरोपीतले थप प्रमाण नष्ट गर्न नपाओस्, पक्राउ परेका आरोपीतले थप अपराध गर्न नपाओस् र आरोपीत कतै भाग्न नपाओस् भनेर प्रहीले उनीहरुलाई थुनामा राख्नेगरेको पाईन्छ ।
तर, नेपालमा पछिल्लो समय प्रकाउ परेपछि हिरासतमा बस्नुलाई सामाजिक प्रतिष्ठा र इज्जतसँग जोडेर लिने गरेको पाईन्छ । हिरासतमा बस्नुभन्दा अस्पतालमा बस्दा समाजमा थोरैभएपनि राम्रो सन्देश जाने र बैज्जत कम हुने भन्दै शक्तिशाली व्यक्तिहरु हिरासतमा बस्नुको साटो अस्पतालमा बस्ने होडबाजीनै चलेको छ ।