Logo

जनताको निराशालाई ०८० मै आशामा परिणत गरी ०८४ लाई कांग्रेसमय बनाउँछौंः महामन्त्री थापा



काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा रहेको निराशालाई आफूहरुले २०८० सालमै आशामा परिणत गर्ने बताएका छन् । आज (शुक्रबार) समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा रौतहटमा रहेका महामन्त्री थापाले ०८० सालमै जनतामा रहेको निराशालाई आशामा परिणत गरेर आगामी २०८४ सालको आम निर्वाचनलाई कांग्रेसमय बनाउने बताएका हुन् ।

महामन्त्री थापाले जनतामा बढ्दै गएको निराशालाई चिर्न समुदायमा जाने अभियान सञ्चालन गरेको बताए । जनतामा रहेको निराशालाई आशामा परिणत गर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकहरुको समस्या बुझ्न आवश्यक महशुस गरेर अभियान चलाएको बताए । समुदायमा रहेको समस्या बुझेर समाधानको प्रयास खोज्ने र आफूहरुले सरकारलाई ती समस्या समाधानका लागि ध्यानाकार्षण गराउने उनले बताए ।

नागरिकहरुद्धारा उठाइएको कुराहरुको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या कृषि,स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको आफूले पाएको बताए । उनले मधेशका तमाम समस्या समाधानका लागि सरकारको ध्यानाकार्षण गराउनेसमेत बताए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. १ गंगापिपरामा आयोजित नागरिक संवाद कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, केन्द्रीय सदस्यहरु, मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, प्रदेशका उपसभापतिद्धय विरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव, प्रदेश सांसद नागेन्द्र साह, जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल यादव, प्रदेश सांसद इन्दुकुमारी साह, प्रदेश सदस्य अरुण साह, प्रदेश सदस्य सूर्य थापा, जिल्ला सचिव रामचन्द्र गिरी, श्यामचन्द्र झा, युवा नेता मिथिलेश मिश्रा, प्रकाश सिंह, चिरञ्जीवि सिंह लगायतका सयौं नेता एवं कार्यकर्ताहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्