काठमाडौं,१९ माघ । नेपाली कांग्रेसको जारी संसदीय दलको बैठकमा व्यवसायी अरुण चौधरी पक्राउबारे कुरा उठेको छ ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा बिहीबार पक्राउ परेका चौधरीको विषयमा उनका दाजुसमेत रहेका सांसद विनोद चौधरीले कुरा उठाएका हुन् ।
आफूहरुले नियमसंगत रुपमा नै बासबारी छालाजुत्ता कारखानाको जग्गा किनेको भन्दै चौधरीले सरकराले नियतवस आफूहरुलाई फसाएको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
सांसद चौधरीले ध्यानाकर्षण गराएपनि पार्टीले कुनैपनि धारण नबनाएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । ‘विनोद चौधरीले आफ्ना कुरा राख्नुभएको छ । पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । नेता र सांसदले गम्भीरतापूर्वक सुनेका छौं ‘, लेखकले भने ।
बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा व्यक्तिको नाममा हडपेको भन्दै व्यवसायी चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समेत अनुमति दिएको छ ।