Logo

सहकारी ठगी प्रकरणः समाचारलाई मात्रै आधार बनाएर छानविन नगर्न समितिका सभापतिलाई रविको आग्रह



काठमाडौं, २१ माघ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अहिले सबैभन्दा ठूलो समस्या सहकारी ठगी प्रकरण देखिएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सहकारीमा करिब सात खर्ब मौजाद रहेको र त्यो पैसा यताउती भएको खण्डमा देशको अर्थतन्त्र ध्वस्त हुने बताए । सहकारी ठगी प्रकरणमा दोषी जो भएपनि दल र व्यक्ति नहेरी राज्यले कारबाही गर्ने उनको भनाइ छ । सहकारी पीडितलाई ठगहरुबाटै उनीहरुको बचत फिर्ता गराउनेतर्फ राज्य लाग्नुपर्ने उनको सुझाव छ ।

‘अहिले सबैभन्दा ठूलो समस्या भनेको यही हो । झण्डै सात खर्ब रुपैयाँ अहिले सहकारीमा रहेछ । यो पैसा यताउती भयो भने नेपालको अर्थतन्त्र नै ध्वस्त हुने अवस्था छ । सबैभन्दा बढी ठगहरु अहिले ठूला कुरा गरेर हिँड्ने छन् । सबैभन्दा भ्रष्टहरु यहाँ सबैभन्दा राम्रा भएका छन् । बोली राम्रो बोल्ने, ठूला कुरा गर्नेहरु पनि पाइएका छन् । म कसैलाई आलोचना गर्न चाहन्न । तर, जनताको पैसा ठगेर कोही अरु कुरा गर्छभने त्यसलाई कारबाहीको दायरामा ल्याएर जनताको पैसा ठगहरुबाटै दिलाउने काममा सरकार लाग्नुपर्छ । । राजनीतिक पार्टी हेर्न हुँदैन, यसमा त्यरो र मेरो हेर्न हुँदैन,’– उनले भने ।

सभापति खतिवडा नेतृत्वकै समितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको पनि विभिन्न सहकारी घोटला प्रकरणमा नाम मुछिएको छ । सभापति खतिवडाले लामिछानेले आफूलाई पत्रपत्रिकामा आएका समाचारकै आधारमा छानविन अगाडि नबढाउन भनेको दाबी गरे ।

‘छलफलको बारेमा रविजीलाई पनि थाहा छ– बेनामी आयो भने के गर्ने ? किटानीसहित आयो भने के गर्ने ? त्यो बारेमा उहाँलाई पनि थाहा छ । पत्रिकामै आएको कुरालाई चाही आधार नबनाऔं है भन्ने उहाँ (रवि) को भनाइ छ,’– खतिवडाले भने ।



प्रतिक्रिया दिनुहोस्