Logo

प्रदेश अध्यक्षलाई काउन्टर दिँदै एमाले धादिङ अध्यक्षले भने: अधिवेशन स्थगित भएको छैन्, उच्छृङ्खल व्यक्तिले हल्ला फैलाए



काठमाडौं,२१ माघ । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनलाई लिएर नेताहरु विभाजित भएका छन् । निवर्तमान भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलबीच विवाद उत्पन्न हुँदा भाँडभैलो हुनुकासाथै कुटाकुट भएको छ । जसमा एमाले धादिङका नेतासमेत रहेका सन्तोष खनालको एउटा हात भाँचिएको छ ।

शनिबार साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुगेको प्रदेश अध्यक्ष ढुंगेलले दाबी गरेका छन् ।

वर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी नेतृत्वको अधिकांश पक्षले केन्द्रीय सर्कुलर अनुसार जिल्ला इन्चार्ज धर्म देवकोटाको अध्यक्षतामा गर्ने मत राखेको थियो । भने प्रदेश सदस्य रमेश आचार्य, प्रदेश कार्यालय सचिव गंगा श्रेष्ठ लगायतले आफूहरूले भनेनुसार अध्यक्ष मण्डलको अध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए ।

तर प्रदेश अध्यक्ष ढुंगेलसमितको पक्षले जिल्लाको नेतृत्व नमान्ने अवस्था आएपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भएको थियो । ‘त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् असान्त, असहज परिस्थिति देखा पत्यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ’ प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्तिमा भनेका छन् ।

तर, यता जिल्ला अध्यक्ष त्रिपाठीले भने प्रदेश अध्यक्षको विज्ञप्ति लगत्तै उनलाई काउण्टर दिँदै जिल्ला अधिवेशन जारी रहेका र स्थगित नभएको भन्दै अर्को सूचना निकालेका छन् ।

‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष त्रिपाठीले विज्ञप्तिमा लेखेका छन्, ‘बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु’उनले भनेका छन् ।

बन्दसत्रमा जिल्ला इन्चार्ज देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज जानुका सिंखडा, रेशम लामा, प्रदेश सदस्य ध्रुव विश्वकर्मा र धनबहादुर घले सदस्य रहेका अध्यक्ष मण्डल गठन गरिएको छ । सोही अध्यक्ष मण्डलले बन्दसत्र अघि बढाएका जनाइएको छ । अधिवेशनले ५ पदाधिकारी र एक सय जना जिल्ला सदस्य चयन गर्नेछ ।

एमालेको गत प्रदेश अधिवेशन देखिनै गुटगत प्रतिस्पर्धा चलिरहेको छ । प्रदेशको नेतृत्व चयनमा देखिएको गुटगत प्रतिस्पर्धा हाल जिल्ला अधिवेशमा पनि देखिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्