Logo

ढुंगेलले अधिकारी च्याप्दा धादिङ एमालेमा कुटाकुट, प्रदेश अधिवेशनको रिस फेर्न खोजेको भन्दै त्रिपाठी पक्ष फायर



काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको विवाद प्रदेश अधिवेशनसँग गाँसिएको पाईएको छ ।

जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व शनिबार साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्ष भूमिप्रसाद त्रिपाठीले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुगेको भन्दै प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति जारी गरेका थिए ।

विवाद बढ्दै जाँदा जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भएको र जसमा सन्तोष खनालको हातसमेत भाँचिएको अध्यक्ष ढुंगेको दाबी थियो । त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् असान्त, असहज परिस्थिति देखा पत्यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको भन्दै ढुंगेलले विज्ञप्ति जारी गरेका थिए ।

ढुंगेलको विज्ञप्ति लगत्तै निवर्तमान जिल्ला अध्यक्ष त्रिपाठीले अर्को विज्ञप्ति जारी गरेका छन् ‘माघ १९ गते देखि जारी नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको मिति सत्र सञ्चालन भई रहेको अवस्थामा केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु’ त्रिपाठीले भनेका छन् ।

एमाले धादिङको अध्यक्षका लागि २ नेताल दाबी गरिरहेका छन् । जसमा एक जना हालकै अध्यक्ष त्रिपाठी हुन भने अर्का डा रामकुमार अधिकारी हन् । प्रदेश अध्यक्ष ढुंगेलले भने जसरी भएपनि अधिकारीलाई अध्यक्ष बनाउन चाहेपछि विवाद सुरु भएको एक नेताले बताए ।

एमालेमा दश बुँदेपक्षका भनेर चिनिएका त्रिपाठीले गत असोजमा सम्पन्न बागमती प्रदेश अधिवेशनमा अध्यक्षका प्रत्याशी कृष्णप्रसाद दाहाललाई सहयोग गरेका थिए । यद्यपि उनले चुनाव हारेका थिए । प्रदेश अधिवेशनमा साम दाम दन्ड भेदको नीति अपनाएर भएपनि चुनाव जितेका ढुंगेलले अहिले त्योबेलाको रिस साँधेको उनीहरुको आरोप छ ।

यता प्रदेश अध्यक्षले अधिवेशन स्थगित भनेपनि बन्दसत्र जारी रहेको छ । अध्यक्षका लागि त्रिपाठी र अधिकारी दुवैले मनोनयन दर्ता गरेका छन् । एमाले नेताहरुका अनुसार धादिङमा अहिलेकै अवस्थामा निर्वाचन भए त्रिपाठी समूहले ठूलो मतान्तरले चुनाव जित्ने देखिन्छ । यो सबै बुझेपछि सादा पानामा विज्ञप्ती जारी गरेर ढुंगेल धादिङबाट बाहिरिएका छन् भने उनको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका डा.अधिकारी अधिवेशन स्थलमै छन्।



प्रतिक्रिया दिनुहोस्