Logo

राष्ट्रिय सभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं,२२ माघ । राष्ट्रिय सभामा विभिन्न दलका सांसदहरुले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । सोमबार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६६ बमोजिम जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न प्रस्ताव दर्ता गराएका हुन् ।

सडक सुरक्षामा देखिएको समस्याले मुलुकको कुल गार्हस्थ उत्पादनमा ७ प्रतिशत क्षति पुगेको अनुमान गरिएको उनीहरुे उल्लेख गरेका छन् । ‘सडक दुर्घटनाका कारण जीवन गुमाउँदा, गम्भीर घाइते भई अपाङ्गताको अवस्थामा पुग्नुपर्दाको व्यक्तिगत क्षति त छदैछ, घाइते भएकाहरूको उपचारमा भएको खर्चका कारण मुलुकले प्रत्येक वर्ष झण्डै १२ अर्ब २८ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको बताइन्छ । यसका अतिरिक्त सम्बन्धित व्यक्ति वा निजको परिवारमा पर्न जाने आर्थिक समस्या, मानसिक क्षति र त्यसका कारण परिवारमा पर्न जाने दुरगामी प्रभाव झन् अकल्पनीय हुन्छ । सवारी दुर्घटनासम्बन्धी विभिन्न अध्ययनबाट प्राप्त तथ्यहरूलाई अनुसूचीमा समावेश गरिएको छ’ प्रस्तावमा भनिएको छ ।

‘दिगो विकास लक्षअन्तर्गत सन् २०३० सम्ममा सडक दुर्घटनाका कारण अकाल मृत्यु र घाइतेको संख्यालाई आधामा झार्ने विश्वव्यापी लक्ष्य पूरा गर्नु नेपालको पनि दायित्व हो । नेपालको संविधानमै मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्यको हक सुनिश्चित गरिएको छ । मौलिक हकको सुनिश्चितता गर्नु सरकारको दायित्व हुन्छ । तसर्थ, सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उद्धार तथा उपचार, अपाङ्गता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रबर्द्धनका लागि चालक एवं सहचालकका लागि परामर्श केन्द्र र गुनासो सुनुवाइ गर्ने निकायको व्यवस्था साथै आम नागरिकबीच सडकको सही प्रयोगकाबारे चेतना अभिवृद्धि अभियानलगायत विषयमा तत्काल कदम चाल्न आवश्यक देखिएकाले यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छौं ’ सार्वजनिक महत्वको प्रस्तावमा भनेका छन् ।

उक्त जरुरी महत्वको प्रस्तावमा सांसदहरु गोपी बहादुर सार्की आछामी, मदन कुमारी शाह ( गरीमा), मोहम्मद खालिद, तुल प्रसाद विश्वकर्मा, डा खिमलाल देवकोटा र डा विमला राई पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त प्रस्तावलाई राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापतिसमेत रहेकी एमाले सांसद दीलकुमारी थापा रावल पार्वती प्रस्तावक रहँदा नेपाली कांग्रेसकी अनितादेवी देवकोटा र एमालेकै भैरवसुन्दर श्रेष्ठले समर्थन जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्