Logo

बालबालिकाको शिक्षामा विशेष ध्यान दिन अभिभावकहरुसँग अर्थमन्त्री डा. महतको आग्रह



नुवाकोट । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।

सोमबार गृहजिल्ला नुवाकोटको दुप्चेश्वरको गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले पढाइलाई प्राथमिकता राख्न अभिभावकहरुसँग अनुरोध गरेका हुन् । उनले भने ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’

बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा। महतले अभिभावकहरुसँग अनुरोध गरेका छन् । उनले स्कुलमा शिक्षक साथीहरुले मेहनत गरेर पढाइ दिन आग्रह गर्दै भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ ।’

‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री डा. महतले भने ।

‘त्रिशुलीबाट नुवाकोट जिल्लाको सदरमुकाम जोड्ने बाटो अपुरो नै थियो, समुन्द्रटारबाट अगाडि कच्ची बाटो भएको पक्की बनाउन प्रस्ताव गरेको छु । यो बाटो निर्माणका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । त्यसको ठेक्का प्रकृया केही दिनमा सुरु हुन्छ’ मन्त्री डा। महतले भने ‘यो बाटो निर्माणपछि सदरमुकाम जान धेरै सहज हुनेछ । काठमाडौं जानका लागि सुन्दरीजल हुँदै गोल्फु भन्ज्याङ जोड्ने बाटो त्यत्तिकै महत्वपूर्ण छ ।’

मन्त्री महतले केन्द्र र प्रदेश सरकारले सल्लाह गरेर पार्टी भन्ज्याङबाट गोल्फु भन्ज्याङ जोड्ने बाटोलाई राम्रो बनाउनका लागि बजेटसमेत राखेर पहल गर्ने बताए । उनले भने ‘ यो सडक राम्रो भएपछि काठमाडौं आवतजावत सहज हुनेछ । पुलको पनि डिपिआर निर्माण हुँदैछ’।

धेरै जग्गा जमिन नभएका रोजगारीको सम्भावना न्यून भएको उल्लेख गर्दै उनले कृषिबाट बढी उत्पादन गर्नेतर्फ ध्यान जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्