काठमाडौं,२५ माघ । गत असोज २७ गते पार्टी र सत्ता गठबन्धनका सबै नेतालाई चक्मा दिँदै कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्की दार्शनिक मानिन्छन् । इतिहास र राजनीतिसँगै दार्शनिक ज्ञानमा पनि अब्बल मानिन्छन् ।
सदनमा होस् वा बाहिर मुख्यमन्त्री कार्कीको प्रस्तुतीमा सत्तापक्षका मात्र होइनन् प्रमुख प्रतिपक्षी दलले पनि खुलेरै समर्थन गर्ने गर्छन् । तर, उनै दार्शनिक मुख्यमन्त्री कार्कीले एक सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भने भाइरलसँगै आलोचना भईरहेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहको। जहाँ उनले अहिले भाइरल भइरहेको भाषण गरेका थिए। मुख्यमन्त्री कार्कीले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको भाषण गरेका थिए । जुन अहिले भाइरहसँगै आलोचनामा परेको छ ।
उनले भाषणक्रममा भनेका थिए ‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न(पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो।’
उनको यो भाषणले कतिपय शिक्षक र कर्मचारीहरूको चित्त दुखेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनीहरूले कार्कीले आफूलाई होच्याउने काम गरेको भन्दै आलोचना पनि गरेका छन्।
मुख्यमन्त्री कार्कीले अर्थशास्त्रका विद्यार्थीहरूले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने पनि बताएका थिए। उनले फर्स्ट बेन्चर र लास्ट बेन्चरको सन्दर्भ जोडेर भाषण गरिरहँदा विद्यार्थीहरूले तालाी बजाउँदै हुटिङसमेत गरे।