Logo

सुन तस्करी प्रकरण: छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान



काठमाडौं,२५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् ।

बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

यसअघि छानबिन समितिले विभिन्न व्यक्रिहरुसँग बयान लिईसकेको छ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणलाई लिएर संसद्मा नेकपा एमालेले सदन अवरुद्ध गरेपछि सरकारले छानबिन समिति बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्