काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै मन्त्रिपरिषद् पु्नर्गठन हुने बताएका छन् । आज (शनिबार) सोनाम ल्होछारका अवसरमा काठमाडौंको टुँडिेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई प्राथमिकता दिएर मन्त्री बनाउने बताएका हुन् ।
‘अब जतिबेला मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । लाखौँ जनताको अगाडि भन्दै छु, मन्त्रिपरिषद् पुनर्गठन त हुन्छ नै हुन्छ। पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ,’– उनले भने ।
प्रधानमन्त्री दाहालले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्तिहरु मिलेर अघि बढ्दा नै संघीयता कार्यान्वयनमा सहयोग पुग्ने बताए । ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्, फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन्,’– उनले भने ।
सो अवसरमा उनले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त पनि सुनाए । उनले भने,“मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय क्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । Photo By: Mukunda Kalikote/RN