Logo

ल्हारक्याललाई अर्को झड्काः रामग्राम क्षेत्रको सम्झौता खारेज गर्न सरकारलाई समितिको निर्देशन



काठमाडौं, २८ माघ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

रामग्राम भगवान गौतम बुद्धको अस्थिधातु राखिएका आठ स्थलमध्ये एक मानिन्छ। लुम्बिनी विकास कोषले उक्त स्थानको ११६ बिघा जग्गा प्रमिस्ड ल्यान्डलाई ९९ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।

उक्त कम्पनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको हो ।आज (आइतबार) बसेको समितिको बैठकले उक्त सम्झौता खारेज गर्न निर्देशन दिएको हो । उक्त कार्यमा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पनि समितिले माग गरेको छ ।

उक्त सम्झौतालाई लिएर लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको तीब्र आलोचना भइरहेको छ । विवादास्पद व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको भन्दै उनको आलोचना भएको थियो । लगत्तै उनले रामग्रामको जग्गा लिजमा दिने सम्झौता गरेपछि आलोचना झनै चुलिएको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले त लकरमा बुलेट लुकाउनेलाई उपाध्यक्ष बनाउँदाको परिणाम भनेर टिप्पणी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्