काठमाडौं,२९ माघ । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित तीन जनालाई छाड्न आदेश दिने न्यायाधीशलाई अपराधीको संज्ञा दिएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको बताए । विष्टले आचार्यलाई भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए ।
“मैले आज न्युज सुनेँ– अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे, कारबाहीस्वरूप । मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुपर्यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो,” सांसद विष्टले भने, “त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्याय परिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले । त्यसैले यो विडम्बनाको कुरा हो ।”
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुणसहित ३ जनानै गत बुधबार रिहा भएका थिए । माघ १८ गते पक्राउ परेका उनीहरुलाई हिरासतमा राख्न सुरुमा ४ दिन अदालतले म्याद दिएको थियो भने त्यसपछि आचार्यको इजलासले २ दिनमै छाड्न आदेश दिएको थियो । उक्त आदेश विवादास्पद बनेको छ ।
आदेश विवादास्वद बनेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई कारबाहीस्वरुप आज मुगुमा काज सरुवा गरेका छन् ।