काठमाडौं, २९ माघ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पहिलो वार्षिकोत्सव टुँडिखेलमा मनाउन नपाउने भएको छ । आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरेर आफ्नो पहिलो बार्षिकोत्सव मानउने तयारी गरेका दुर्गा प्रसाईलाई सरकारले अनुमति दिएको छैन ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र पनि सपरिवार चितवन गएका छन् । प्रसाईँ नेतृत्वको अभियानले पूर्वराजालाई नागरिक अभिनन्दनको निमन्त्रणा दिएको थियो । पूर्वराजाले पत्रको कुनै जवाफनै नदिइ हिजो चितवनतिर गएका छन् ।
यो पनि पढ्नुहोस्ः पूर्वराजा ज्ञानेन्द्र सपरिवार चितवन हानिए, तनावमा दुर्गा प्रसाईं
प्रसाईंले गत मंसिर ७ मा आन्दोलन गरेर आफ्नो तागत नापिसकेको र अब फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने उद्घोष गरेका थिए ।
गत मंसिर ७ को आन्दोलन आफू एक्लैले गरेको भएपनि फागुन १ गतेदेखि सुरु हुने आन्दोलन संगठित रुपमा हुने प्रसाईँको उद्घोष थियो । जसको विरासत फर्काउन र सत्तामा ल्याउन आन्दोलन गर्न लागेको हो उसैले भाउ नदिएपछि प्रसाईँ विचलित भएका छन् ।
यो पनि पढ्नुहोस्ः पूर्वराजा ज्ञानेन्द्रको पाउमा दुर्गा प्रसाईँ नेतृत्वको अभियानको विन्तीपत्र…
त्यसैगरी, प्रदर्शनका लागि प्रसाईँ नेतृत्वको महाअभियानले टुँडिखेल मागेपनि जिल्ला प्रशासनले स्वीकृति दिएको छैन । तर, प्रसाईँले भने शक्ति प्रदर्शनका लागि देशभरबाट आफ्ना समर्थकहरुलाई काठमाडौं उतारेको बताइएको छ ।
गत मंसिर ७ गतेको सरकारले प्रसाईँलाई बल्खुमा प्रदर्शनका लागि तोकेको थियो भने नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघलाई तीनकुने दिएको थियो । अहिले प्रसाईँलाई भृकुटीमण्डपमा ठाउँ दिने तयारी रहेको बताइएको छ । टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमहरु भइरहेकाले अनुमति दिन नमिल्ने बताइएको छ ।