Logo

माल्दिभ्सलाई लज्जास्पद हार चखाउँदै नेपालले लगायो कीर्तिमानको ओइरो



काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले माल्दिभ्सलाई २१४ रनको विशाल अन्तरले पाखा लगाएको हो ।

नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.३ ओभरमा मात्र १३ रनमा समेटियो । माल्दिभ्सका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई लज्जास्पद हार चखाउनेक्रममा नेपालका अस्मिना कमचार्य एक्लैले ४ विकेट लिईन् भने पूजा महतो र रुविना बेल्बासे क्षेत्रीले समान ३ विकेट लिईन् । नेपाली टिमको घातक बलिङसामू निरीह देखिएको माल्दिभ्सका ६ जना खेलाडीले कुनैपनि रनको खातानै खोल्न सकेनन् ।

अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए । नेपालले हाँसिल गरेको यो जित हालसम्मकै ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

यसअघि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो । नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो । २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

रुविनाले केवल ५९ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काउँदै अविजित एक सय १८ रन बनाइन् । खेलमा उनको स्ट्राइक रेट दुई सय रह्यो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो ।

त्यसअघि ओपनर ब्याटर सीता रानामगरले १५ र कविता कुँवरले ११ रन बनाएका थिए । कप्तान इन्दु बर्मा भने शून्य रनमै पभेलियन फर्किएकी थिइन् ।डली भट्टले पनि टोलीको खातामा ६ रन थपिन् । नेपालले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो ।

समूह डी मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गर्दा जितविहीन माल्दिभ्स रित्तो हात घर फर्किएको छ ।



प्रतिक्रिया दिनुहोस्