काठमाडौं, २ फागुन । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलले हर्सोल्लासका साथ सरस्वतीको पुजा आरधना गरी वसन्त पञ्चमी पर्व मनाएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरुको उपस्थितिमा एस्फोडेलले वसन्त पञ्चमी पर्व भव्यताका साथ मनाएको हो ।
विद्यालयका संस्थापक एवं प्रधानाध्यापक विरेन्द्रप्रकाश श्रेष्ठले विद्याकी देवी सरस्वतीको जन्मदिनका अवसरमा अघिल्ला वर्षहरुमा पनि भव्यताका साथ पुजा अर्चना हुने गरेको र यस वर्ष पनि हर्सोल्लासका साथ मनाइएको बताए । साथै, सरस्वती पुजाको अवसरमा अक्षर शुभारम्भ गराएर निःशुल्क भर्नासमेत सुरु गरिएको उनले बताए ।
‘हामीले सरस्वती माताको जन्मदिनमा सधैं पुजा अर्चना गर्ने गरेका छौं । आज पनि हामी बच्चाहरु सबै भेला गरेर भव्यताका साथ पुजा गर्यौं । गुरूहरु बोलायौं । ब्रामण वचन गरेर सरस्वतीको आरधना गर्यौं । साना बच्चाहरुलाई अक्षरको शुभारम्भ गरेर निःशुल्क भर्ना सुरु गर्यौं । विद्यालय भनेको सरस्वतीको मन्दिर हो,’– उनले भने ।
वसन्त पञ्चमी सरस्वतीको जन्म दिन हो । यसदिन सरस्वती माताको पुजा गर्ने चलन वर्षौदेखि चलिआएको परम्परा हो । सृष्टि निर्माणको समयमा सरस्वती वसन्त पञ्चमीको दिन प्रकट भएकी मान्यता रहिआएको छ । यस दिन सरस्वतीको पुजा अर्चना गर्दा सरस्वती देवीको आर्शिवाद प्राप्त हुने जनविश्वास रहिआएको छ । फोटोः दिनेश चौधरी / रिपोर्टर्स नेपाल