काठमाडौं,२ फागुन । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन जारी रहेको छ । मंगलबारदेखि जारी विधान सम्मेलन आज सक्ने तयारी छ ।
मंगलबारबाट सुरु विधान अधिवेशनमा २० वटा समूह बनाएर सामूहिक छलफल भईरहेको छ । सामूहिक छलफल चलिरहँदा केन्द्रीय सदस्य महेश्वर दाहालले फरक प्रस्ताव दर्ता गरेका छन् ।
प्रेस सेन्टरका पूर्व अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य दाहालले फरक प्रस्ताव दर्ता गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल सरकार छाड्नुपर्ने र वामपन्थी दलहरुबीच पार्टी एकताका लागि नेतृत्व गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले अहिले उत्पीडित वर्गको राज्यसत्ता कब्जा नगरेको अवस्थामा प्रमुख नेतृत्वसहित पदाधिकारी, स्थायी समितिका नेताहरु नै सरकारमा पटक पटक जाने, लामो समय रहँदा कम्युनिस्ट पार्टी र आन्दोलनलाई धेरै नै ठूलो क्षति पुर्याएको बताएका छन् ।
पार्टी र कम्युनिष्ट आन्दोलनलाई पुगेको क्षतिलाई काम गर्न एक पटक मन्त्री भएका सबैलाई हटाएर नयाँलाई अवसर दिन तथा सबै केन्द्रीय सदस्यको सम्पत्ति छानबिन गर्नसमेत उनले प्रस्ताव गरेका छन् ।
दाहालले केन्द्रीय सदस्यहरूको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जान पनि सुझाव दिएका छन् । ‘यदि तत्काल सम्पत्ति पार्टीकरण गर्न सकिँदैन भने श्रीमती, परिवारका अन्य सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरूको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौँ । पार्टीलाई समाजवादीकरण दिशामा लैजान पहल गरौंँ,’ दाहालले दिएको सुझावमा उल्लेख छ । कमसेकम केन्द्रीय सदस्यहरूमा निजी सम्पत्ति त्यागको भावनाको विश्वास पैदा गर्न अत्यावश्यक रहेकोले त्यो कुरा विधानमा किटानीसाथ लेख्नुपर्ने उनको माग छ ।
नेपालमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशा दिनका लागि पार्टी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला रहेको उनको भनाइ छ । फराकिलो कम्युनिस्ट अन्तर्राष्टिय बनाउनु पर्छ । नयाँ, विकसित रिम बनाउनु पर्ने उनको सुझाव छ ।
‘यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काईसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनु पर्छ । एकपटक मन्त्री भइसकेकाहरुलाई हटाएर सबै नयाँ कमरेडहरुलाई मन्त्रीमण्डल लैजाऔं । अनुभवी कमरेडहरुलाई बरु नयाँ मन्त्रीहरुलाई गाइड गर्नका लागि पार्टीमा एउटा संयन्त्र बनाऔं’उनले प्रस्तावमा भनेका छन् ।
उनले नेपालमा वामपन्थी पार्टी र आन्दोलन ठूलो संकटमा परेको उल्लेख गरेका छन् । ‘समाजवादमा जाने शर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका सबै वामपन्थी शक्ति र व्यक्तिहरुसँग एकताका लागि पहल बढाऔं’उनले भनेका छन् । ।
यस्तो छ उनको ७ बुँदे प्रस्ताव
१- विधानको प्रस्तावनामा स्पष्ट भाषामा समाजवादी दर्शन र मूल्य मान्यतालाई उल्लेख गर्न आवश्यक छ जो हाम्रो विधानको आधार हो र हुनुपर्छ । हाम्रा मुख्य उद्देश्य र दिशा यसले निर्धारण गर्न सक्नुपर्छ । जुन उद्देश्यले सामाजिक, आर्थिक लक्ष्य स्थापित गर्न सकियोस् ।
२- सकेसम्म केन्द्रीय सदस्यहरुको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जान बल गरौं । यदि तत्काल यो सकिदैंन भने श्रीमती, परिवारका अन्य सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौं । पार्टीलाई समाजवादीकरण दिशामा लैजान पहल गरौं ।
नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टीले केन्द्रीय सदस्यहरुको एक हिस्सा सम्पति पार्टीकरण गरेको हो । केन्द्रीय नेताहरुको यो पहलले पार्टी कार्यकर्ता र जनतामा त्याग, वलिदानको भावना विकास भएको हो । समाजवादी यात्रामा जानका लागि फेरि कमसेकम केन्द्रीय सदस्यहरुमा त्यो त्याग भावनाको विश्वास पैदा गर्न अत्यावश्यक छ । क्रान्तिकारी विचारसँगै क्रान्तिकारी आचरणलाई पनि जोड दिऔं ।
३- इतिहासका अनुभव र एक्काईसौ शताब्दीको जनवादको विकासको कार्यान्वयन ढिला भएको छ । जनयुद्धकालमा पारित गरिएको यो विषयलाई ठोस, मूर्तिकृत गर्दै कार्यान्वयन जरुरी छ ।
त्यसमा लेखिएको छ, अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रबल बनेर जान्छ ।
यस प्रकारको खतराको तीब्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रुपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ ।
प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यतामा अझै विकास गर्न जरुरी छ ।
यसका लागि पार्टीभित्र चल्ने दुई लाइन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्ताहरुसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता संचालनमा लाग्ने र निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ ।
अहिले उत्पीडित वर्गको राज्यसत्ता कब्जा नगरेको अवस्थामा त झन प्रमुख नेतृत्वसहित पदाधिकारी, स्थायी समितिका नेताहरु नै सरकारमा पटक पटक जाने, लामो समय रहँदा कम्युनिस्ट पार्टी र आन्दोलनलाई धेरै नै ठूलो क्षति पुर्याएको छ ।
नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशा दिनका लागि पार्टी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला छ यतिबेला । फराकिलो कम्युनिस्ट अन्तर्राष्टिय बनाउनु पर्छ । नयाँ, विकसित रिम बनाउनु पर्छ ।
यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काईसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनु पर्छ । एकपटक मन्त्री भइसकेकाहरुलाई हटाएर सबै नयाँ कमरेडहरुलाई मन्त्रीमण्डल लैजाऔं । अनुभवी कमरेडहरुलाई बरु नयाँ मन्त्रीहरुलाई गाइड गर्नका लागि पार्टीमा एउटा संयन्त्र बनाऔं ।
४- यतिबेला नेपालमा वामपन्थी पार्टी र आन्दोलन ठूलो संकटमा छ । समाजवादमा जाने शर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका सबै वामपन्थी शक्ति र व्यक्तिहरुसँग एकताका लागि पहल बढाऔं ।
अधिकतम लचिलो बनेर माओवादी पार्टी र आन्दोलन पुनर्गठनका लागि हात अगाडि बढाऔं । सरकार, सदन र सडकलाई एकीकृत र व्यवस्थित रुपमा लैजानुपर्छ । सडक र संसारलाई बलियो बनाउनु पर्छ । लाखौं नेपाली श्रमिकहरु संसारभरि नै रहेकाले पनि त्यहाँको संगठनात्मक कामलाई पनि विशेष जोड दिन आवश्यक छ ।
५- पार्टीभित्र प्रत्यक्ष निर्वाचनमा जान जरुरी छ । अध्यक्षसहित सबै पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र सबै तहको निर्वाचन प्रत्यक्षरुपमा गरौं । यसले पार्टीमा नयाँ नेतृत्वको विकासका लागि ढोका खोल्नेछ ।
६- पार्टीभित्र भएका सबै अनियमितता रोक्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने ।
७- विधानको पूर्वसन्ध्यामा वैकल्पिक केन्द्रीय सदस्य थपेर यो विधान अधिवेशनलाई नै पंगु बनाइयो । जो जो कमरेडहरू बन्नुभयो, न्याय नै भएको छ तर प्रक्रिया गलत अपनाइयो । अहिले केस थपेर विशेष अधिवेशन पन्छाएको भन्ने देखिदैंन ? ।